कर्णाली

हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन



कर्णाली, १९ असार

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दैलेखको चामुण्डा विद्रासैन्नीस्थित कर्णाली राजमार्गबाट बिहीबार नदीमा खसेर बेपत्ता भएको गाडी तथा यात्रुको हेलिकप्टरबाट खोजी गर्न निर्देशन दिनुभएको छ । मुख्यमन्त्री कँडेलले आज कर्णाली प्रदेशमा रहेका चारवटै सुरक्षा निकायका प्रमुखसँग खोजी तथा उद्धारबारे जानकारी लिँदै उपलब्ध सबै साधनस्रोत परिचालन गर्ने गरी खोजीलाई तीव्र बनाउन आग्रह गर्नुभएको हो । छलफलमा उहाँले अहिलेसम्म सुरक्षा निकायहरुबाट खोजी तथा उद्वारमा भइरहेको कामको प्रशंसा गर्दै आवश्यकताअनुसार हेलिकप्टरबाट परिचालन गर्न निर्देशन दिनुभयो । उहाँले दैलेखदेखि भारतको सीमासम्म खोजीको दायरा विस्तार गर्न निर्देशन दिनुभयो । छलफलमा सशस्त्र प्रहरी बल नेपाल नं.६ बाहिनी मुख्यायलय सुर्खेतका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्णराज पाठकले घटनास्थलमा गोताखोर परिचालन गरिएको र थप जनशक्ति कुरिनटारबाट हिँडिसकेको जानकारी दिनुभयो । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाले जलसतह बढेको, धमिलो पानी तथा भौगोलिक कठिनाइका कारण खोजी कार्यमा चुनौती थपिएको बताउनुभयो । सबै सुरक्षा निकायको सामूहिक प्रयासबाट उपलब्ध सम्पूर्ण जनशक्ति र स्रोतसाधन परिचालन गरी खोजी जारी राखिएको उहाँको भनाइ थियो । उहाँका अनुसार नेपाली सेनासमेत खोजीमा परिचालन भएको र ड्रोन क्यामेराबाट सम्भावित स्थानहरुमा खोजी सुरु भएको छ । दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गमा सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको गाडी बिहीबार ११ः३० बजे सडकबाट करिब ४०० मिटर तल कर्णाली नदीमा खसेर बेपत्ता भएको थियो । दुर्घटनापछि अचेत अवस्थामा भीरमा अड्केका पचालझरना गाउँपालिका–९ कालिकोटका ५४ वर्षीय जेखे तिरुवालाई उद्धार गरी उपचारका लागि अस्पताल लिँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । गाडीमा सवार यकीन नभएका अन्य यात्रुहरुको अवस्था अज्ञात रहेको जनाइएको छ । –––

प्रकाशित : १९ असार २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६