ब्रेकिंग न्युज

‘कुखुराको मासु र अण्डा पकाएर खान सुरक्षित छ’



चितवन, १९ असार

कुखुराको मासु र अण्डा पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित हुन सकिने विज्ञहरूले बताउनुभएको छ । देशका विभिन्न भागमा बर्डफ्लुको सङ्क्रमण फैलिएपछि उपभोक्ता अन्योलमा भइरहेको बेला विज्ञहरूले कुखुराको मासु र अण्डा राम्ररी पकाएर खाँदा कुनै जोखिम नहुने बताउनुभएको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा डा होमबहादुर बस्नेतले पाकेको मासुमा भाइरस नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “भाइरसको जोखिम काँचो मासुमा हुन्छ । राम्ररी पकाएको मासु र अण्डा खाँदा कुनै डर छैन ।” उहाँले काँचो मासु ल्याएर राखिएको भाँडा भने निःसङ्क्रमित गर्न सुझाव दिनुभयो । प्रा डा बस्नेतले भन्नुभयो, “ल्याएर काँचो मासु राखेको भाँडालाई भने सङ्क्रमणमुक्त बनाउनुपर्छ”, तातोपानीले भाँडालाई सफा गरेर सङ्क्रमणमुक्त गराउन सकिने उहाँले सुझाव दिनुभयो । बर्डफ्लुका विज्ञसमेत रहनुभएका प्रा डा बस्नेतले ४० डिग्री तापक्रम पुगेपछि भाइरस मर्ने जनाउँदै भन्नुभयो, “बर्डफ्लु लागेको कुखुराले अण्डा पार्न सक्दैन । त्यसैले अण्डा झनै सुरक्षित छ ।” बर्डफ्लु लागेपछि सबै कुखुरा नष्ट गरिने हुँदा सङ्क्रमित कुखुरा बजारमा आउने सम्भावना नहुने उहाँको भनाइ छ । सरकारले क्षतिपूर्ति दिने भएकाले कुखुरामा बर्डफ्लु देखिएमा तुरुन्त नष्ट गरेर बजारमा आउनबाट रोक्न प्रा डा बस्नेतले सुझाव दिनुभयो । “नेपालमा काँचो मासु खाने प्रचलन छैन । त्यसैले पनि बर्डफ्लुको जोखिम मानिसमा कम छ”, उहाँले भन्नुभयो । राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशाला चितवनका प्रमुख डा विजयकुमार श्रेष्ठले अहिले चितवन र आसपासका क्षेत्रमा बर्डफ्लुको कुनै सङ्क्रमण नभेटिएकाले मासु र अण्डा पकाएर खान सकिने बताउनुभयो । चितवनसहित छिमेकी २२ जिल्लाबाट यहाँ नमूना परीक्षणका लागि आउने जनाउँदै उहाँले जिल्लामा पछिल्लो समय गत जेठमा सङ्क्रमण देखिएको बताउनुभयो । त्यसअघि चैतमा एउटा फार्ममा सङ्क्रमण देखिएको भन्दै डा श्रेष्ठले किसानलाई सजग भएर काम गर्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “फार्ममा काम गर्दा सुरक्षित भएर काम गर्नुपर्छ । कामदारले पञ्जा, बुट, एप्रोन, माक्सजस्ता सुरक्षाका उपकरण प्रयोग गर्नु उपयुक्त हुन्छ ।” डा श्रेष्ठले जैविक सुरक्षामा ध्यान दिन सकेमा सङ्क्रमणबाट बच्न सकिने सुझाव दिनुभयो । किसानका फार्ममा कुखुरा मार्ने समस्या देखिएमा वा शङ्कास्पद देखिएमा तत्काल परीक्षण गर्न र रोग पुष्टि भएमा सो फार्मका अण्डा, कुखुरा र दाना बाहिर नलैजान उहाँले आग्रह गर्नुभयो । मासु र अण्डा राम्ररी पकाएर खाँदा कुनै समस्या नहुने भन्दै उहाँले रोग मानिसमा सर्ने जोखिम कम रहेको बताउनुभयो । मानिसबाट मानिसमा यो रोग नसर्ने भन्दै उहाँले भन्नुभयो, “पकाएर मासु र अण्डा खाँदा कुनै समस्या छैन ।” भाइरस बाहिरबाट फार्ममा भित्रिने भन्दै डा श्रेष्ठले खोरमा आफैँ भाइरस उत्पादन नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “यो भाइरस बाहिरबाट आउने हो । चराचुरुङ्गी, गाडी, दाना, पानीको माध्यमबाट खोरमा भित्रिन सक्छ ।” चराचुरुङ्गीमार्फत सङ्क्रमण आउन सक्ने भन्दै उहाँले खोर वरिपरिका रुख काट्न पनि सुझाव दिनुभयो । राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाका अनुसार बर्डफ्लुबाट नष्ट गर्ने पोल्ट्रीजन्य सामग्रीमा जिल्ला दररेटको ७० प्रतिशत सरकारले क्षतिपूर्ति दिने गर्दछ । —

प्रकाशित : १९ असार २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६