ब्रेकिंग न्युज

साउनको पहिलो सोमबारः पशुपतिनाथमा पूजा, आराधना गर्नेको घुइँचो



काठमाडौँ, ४ साउन

यस वर्षको साउनको पहिलो सोमबार आज पशुपतिनाथ मूल मन्दिरभित्र प्रवेश गरी पूजा, आराधना गर्नेको घुइँचो लागेको छ । मन्दिरमा आउने सबै दर्शनार्थीले दर्शन गर्नसक्ने गरी व्यवस्था मिलाइएकाले मन्दिर परिसरभित्र बिहानैदेखि भक्तजनको घुइँचो लागेको हो । पशुपतिनाथसहित देशभरका शिवालयमा आशुतोष भगवान् शिवको पूजा, आराधना एवं दर्शन गर्ने भक्तजनको दिनभरि घुइँचो लागेको थियो । पशुपतिनाथ मन्दिरमा आज आउनेजति सबैलाई दर्शनको व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् सदस्य केदारमान भण्डारीले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार दर्शन गर्न लाइन बस्नेको आँकडाअनुसार अनुमानित दुई लाखभन्दा बढी दर्शनार्थीले पूजा, आराधना र दर्शन गरेका छन् । बिहानैदेखि पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको थियो । बिहान ९ः०० बजे अघि लाममा बसेको आधा घण्टामा मूल मन्दिरभित्र प्रवेश गरेर दर्शन सकेर फर्कनसकिने अवस्था रहेकामा ९ः०० बजेपछि भने करिब एक घण्टा ३० मिनेटसम्म लागेको उहाँले बताउनुभयो । बेलुकी ६ः०० बजेपछि पनि आधा घण्टामा दर्शन गरेर फर्कन सकिने अवस्था रहेको कोषले जनाएको छ । आज बिहानै ३ः०० बजेदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलिएको थियो । बिहान भने भक्तजनले सहज रूपमा दर्शन पाएका थिए । साउने झरीको पनि वास्ता नगरी भक्तजन बिहानैदेखि पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आएका थिए । यस अवसरमा पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको सहज, सुरक्षित तथा व्यवस्थित दर्शन तथा विषेश पूजाको व्यवस्था गरिएको छ । कोषले यसवर्ष रु एक हजार तिरेर टिकट काटी सुलभ रूपमा दर्शन गर्न सक्ने व्यवस्थासमेत गरेको छ । यो व्यवस्थालाई सुलभ दर्शन भनिएको छ । यो व्यवस्थाले सहज रूपमा दर्शन गरेर काम विशेषले हिँड्नेका लागि सजिलो भएको छ । भगवान्को दर्शन गरी राजधानी बाहिर वा विदेश जानेका लागि सहज भएको कोषले जनाएको छ । यसरी करिब २५ जनाले दर्शन गरेका कोषको सञ्चालक परिषद् सदस्य भण्डारीले बताउनुभयो । तर यो व्यवस्थाको केही भक्तजनले भने बिरोध जनाएका छन् । साउनको सोमबार पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने लाखौँ श्रद्धालु भक्तजनलाई सहज, सुरक्षित, मर्यादित र व्यवस्थित वातावरणमा दर्शन र पूजा गराउने गरी व्यवस्था मिलाइएको कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिनुभयो । यसवर्ष विशेष पूजाका लागि करिब २५० जनाले रसिद काटेका छन् । रु तीन हजार १०० र रु सात हजार ५०० को रसिद काटी विशेष पूजाको व्यवस्था मिलाइएको छ । बिहान ८ः३० बजेदेखि करिब १२ः०० बजेसम्म भक्तजनलाई विशेष पूजा गराइएको थियो । मन्दिर छिर्न चार वटा लामको व्यवस्था गरिएको थियो । बिहानैदेखि भक्तजन आएपनि लामो लाम भने नभएको कोषले जनाएको छ । पशुपति क्षेत्रमा दर्शनार्थीका लागि प्राथमिक उपचारलगायत अत्यावश्यक सबै व्यवस्था गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललगायत विभिन्न संस्थाले पनि पशुपति क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविरको व्यवस्था गरिएको छ । साउनको पहिलो सोमबार आज पशुपतिनाथसँगै राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुर दरबार क्षेत्रको सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवलगायत राजधानीका ठूला साना सबै शिव मन्दिरमा पनि भक्तजनको लाम लागेको जनाइएको छ । यसैगरी देशभरका शिवालयमा भक्तजन पूजा आराधना एवं दर्शनका लागि पुगेका छन् । पशुपतिनाथ मन्दिरमा श्रीयन्त्र र गोकर्णेश्वर मन्दिरमा बालयन्त्रको पूजा आराधना हुने भएकाले पशुपतिनाथको पूजा, आराधना एवं दर्शन गर्नेले गोकर्णेश्वर र गोकर्णेश्वर महादेव मन्दिरको पूजा, आराधना एवं दर्शन गर्नेले पशुपतिनाथको पूजा, आराधना एवं दर्शन गर्नै पर्ने भन्ने नियम पनि रहेको जनाइएको छ । —

Powered By  Orson Infotech

प्रकाशित : ४ श्रावण २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६