ब्रेकिंग न्युज

पोखरामा हरित विद्यालयसम्बन्धी प्रशिक्षण



काठमाडौँ, ५ साउन

प्रधानाध्यापकहरूको पेसागत क्षमता अभिवृद्धि तथा विद्यालयमा दिगो विकास र वातावरणीय शिक्षालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले प्रिन्सिपल एशोसिएसन अफ नेपालको समन्वयमा युनेस्को र काठमाडौँ विश्वविद्यालयको सहकार्यमा पोखरामा चारदिने हरित विद्यालयसम्बन्धी प्रादेशिक तालिम सम्पन्न भएको छ । गण्डकी प्रदेशका विभिन्न विद्यालयबाट १५ जना प्रधानाध्यापक र १५ जना हरित विद्यालय ‘फोकल’ शिक्षक गरी ३० जना सहभागी रहेको उक्त तालिममा विद्यालयलाई वातावरणमैत्री, दिगो र जलवायु–उत्तरदायी बनाउने अवधारणा, नीति, कार्यढाँचा तथा व्यवहारिक पक्षबारे विस्तृत छलफल गरिएको थियो। तालिममा नेपाल सरकार तथा युनेस्कोका सम्बन्धित मार्गदर्शक दस्तावेजहरूको अध्ययन र प्रयोगका विषयमा अभिमुखीकरण गरिएको थियो । कार्यक्रममा जलवायु परिवर्तन, जैविक विविधता संरक्षण, पारिस्थितिकीय प्रणाली, जलवायु न्याय, विपद् तथा उत्थानशीलता, दिगो जीवनशैली, परिपत्र अर्थतन्त्र जस्ता विषयलाई विद्यालय शिक्षासँग कसरी एकीकृत गर्ने भन्ने विषयमा छलफल भएको थियो । साथै, विभिन्न विषयका पाठ्यवस्तुसँग हरित विद्यालय अवधारणालाई अन्तरसम्बन्धित गर्दै विद्यार्थीकेन्द्रित, परियोजनामा आधारित तथा व्यवहारमुखी सिकाइलाई प्रवर्द्धन गर्ने उपायहरू प्रस्तुत गरिएको थियो । तालिममा हरित विद्यालयसम्बन्धी पाठयोजना निर्माण रहेको थियो । सहभागीहरूले विभिन्न विषयमा वातावरणीय तथा दिगोपनका अवधारणालाई समेटेर अन्तरविषयगत पाठयोजना तयार गर्ने अभ्यास गरेका थिए । कास्कीको भद्रकाली माध्यमिक विद्यालय, कुडहरमा ती पाठयोजनाका आधारमा प्रदर्शन कक्षा सञ्चालन गरिएको थियो भने प्रदर्शन कक्षाको काठमाडौँ विश्वविद्यालयका प्राध्यापकहरू तथा युनेस्कोका प्रतिनिधिहरूले अवलोकन गरी सहभागीहरूलाई रचनात्मक सुझाव र पृष्ठपोषण प्रदान गरेका थिए । तालिमका सहजीकरण काठमाडौँ विश्वविद्यालयका प्राध्यापकहरू, युनेस्कोका प्रतिनिधिहरू तथा प्रिन्सिपल एशोसिएसन अफ नेपालका पदाधिकारीले गरेका थिए । कार्यक्रममा एशोसिएसनका केन्द्रीय अध्यक्ष सुदाम गौतमले विद्यालय नेतृत्वले हरित, दिगो र जलवायुमैत्री विद्यालय निर्माणमा निर्वाह गर्नुपर्ने भूमिकाबारे प्रकाश पार्नुभएको थियो । गण्डकी प्रदेशबाट सुरु भएको कार्यक्रमलाई सात वटै प्रदेशका १०० भन्दा धेरै विद्यालयका प्रधानाध्यापक र ‘फोकल’ शिक्षकलाई तालिम दिने र बर्सेनि यो सङ्ख्या वृद्धि गर्दै लैजाने रहेको जानकारी दिनुभएको थियो । त्यसैगरी शिक्षा विकास तथा समन्वय एकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले सहभागी शिक्षकहरूलाई शुभकामना व्यक्त गर्दै तालिमबाट प्राप्त ज्ञान र सीपलाई विद्यालयमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गर्नुभएको थियो । तालिमको समापनसँगै सहभागीहरूलाई आफ्ना विद्यालयमा हरित विद्यालय अवधारणाको कार्यान्वयनसम्बन्धी विद्यालय–आधारित कार्य सञ्चालन गर्ने जिम्मेवारी दिइएको छ । तोकिएका कार्यहरू सफलतापूर्वक सम्पन्न गरी प्रतिवेदन पेश गरेपछि सहभागीहरूलाई काठमाडौँ विश्वविद्यालयबाट शैक्षिक क्रेडिट प्रदान गरिने आयोजकले जनाएको छ । आयोजकका अनुसार यस तालिमले विद्यालय नेतृत्व र शिक्षकहरूलाई हरित विद्यालयको अवधारणालाई विद्यालय व्यवस्थापन, शिक्षण–सिकाइ प्रक्रिया, सहपाठ्य क्रियाकलाप तथा समुदायसँगको सहकार्य मा प्रभावकारी रूपमा समावेश गर्न आवश्यक ज्ञान, सीप र व्यवहारिक अनुभव प्रदान गरेको छ । यसबाट नेपालका विद्यालयहरूलाई दिगो विकासका लक्ष्यअनुरूप वातावरणमैत्री र जलवायुमैत्री शिक्षण संस्थाका रूपमा विकास गर्न थप टेवा पुग्ने अपेक्षा गरिएको छ । –––

प्रकाशित : ५ श्रावण २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६