काठमाडौँ, ६ साउन
सिटिइभिटीबाट सीप प्रशिक्षणको मात्र अनुमति लिएर अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्दै आएको इन्डस्ट्री ट्रेनिङ इन्स्टिच्युटमा श्रम मन्त्रालय, शिक्षा मन्त्रालय, सिटिइभिटी र विभागको संयुक्त टोलीले अनुगमनका क्रममा सिलबन्दी गरेको छ । युवा, श्रम तथा रोजगार मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) र वैदेशिक रोजगार विभागको संयुक्त अनुगमन टोलीले उक्त संस्थाको निरीक्षण गरी सिलबन्दी गरेको हो । विशेष गरी वैदेशिक रोजगारमा जाने श्रमिकहरूलाई लक्षित गरी तोकिएको सर्त विपरीत सीप प्रमाणीकरण प्रमाणपत्र उपलब्ध गराउने गरेको प्राप्त गुनासोका आधारमा कारबाही अघि बढाइएको हो । अनुगमनका क्रममा उक्त संस्थाले प्रचलित कानुन र सर्तहरूको गम्भीर उल्लङ्घन गरेको समेत देखिएको छ । सीप प्रशिक्षण दिन मात्रै अनुमति पाएको संस्थाले सरकारी निकाय (सिटिइभिटी)लाई मात्र भएको सीप परीक्षण र प्रमाणीकरणको अधिकार अनधिकृत रूपमा प्रयोग गरेको भेटिएको छ । संस्थाले अनुमति लिँदा तोकिएका विधाहरू भन्दा फरक विषयहरूमा पनि तालिम दिने गरेको पाइएको छ । अनुगमन टोलीले उक्त संस्थाको कार्यालयमा सिलबन्दी गरी आवश्यक कागजात र प्रमाणपत्रहरू अध्ययनका लागि नियन्त्रणमा लिएको छ । अनुगमन टोलीले उपलब्ध गराएका कागजातको अध्ययन अनुसन्धान पश्चात् संस्थामाथि थप कानुनी कारबाही अगाडि बढाइनेछ ।










प्रतिक्रिया