दाङ, ६ साउन
जिल्लाको बङ्गलाचुलीको एक जङ्गलबाट प्रहरीले आज ११ वटा अवैध भरुवा बन्दुक फेला पारेको छ । बङ्गलाचुली गाउँपालिका–८ स्थित घोरलभिर भनेर चिनिने पिपली जङ्गलको झाडीमा लुकाइ राखेको अवस्थामा ११ नाल अवैध भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डा हेमबहादुर केसील जानकारी दिनुभयो । उहाँका अनुसार विशेष सूचनाका आधारमा प्रहरीचौकी रामपुरबाट खटिएको प्रहरीको टोलीले आज बिहान ९ बजे जङ्गलका विभिन्न स्थानमा लुकाइ राखेको अवस्थामा १० वटा चालु र एक नाल नचल्ने बन्दुक फेला पारी बरामद गरिएको हो । ती बन्दुक कसले कुन प्रयोजनका लागि राखेको भन्नेबारेमा थप अनुसन्धान भइरहेको दाङ प्रहरीले जनाएको छ । यसअघि प्रहरीले मङ्गलबार लमही नगरपालिका–१ नर्तीस्थित बकेन सामुदायिक वनबाट एक थान भरुवा बन्दुक फेला पारेको थियो । गत सोमबार लमही नगरपालिका–९ स्थित च्याउखोला क्षेत्रमा रहेको बिरह सामुदायिक वनबाट पनि प्रहरीले बेवारिसे अवस्थामा एक थान भरुवा बन्दुक फेला पारेका थियो । लगातार तीन दिनको अवधिमा जिल्लामा १४ नाल अवैध भरुवा बन्दुक फेला परेका छन् । —
Powered By Orson Infotech










प्रतिक्रिया