ब्रेकिंग न्युज

एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार



सुदूरपश्चिम, ९ साउन

मोबाइल, इमेल र सामाजिक सञ्जालको बढ्दो प्रयोगले परम्परागत हुलाक सेवा ओझेलमा परेको धारणा रहे पनि कैलालीमा यसको प्रयोग अझै उल्लेख्य रहेको देखिएको छ । हुलाक निर्देशनालय कैलालीका अनुसार आर्थिक वर्ष २०८२/८३ मा एक लाख २७ हजार ६२० वटा चिठीपत्र तथा हुलाक सामग्री आयात–निर्यात भएका छन् । तथ्याङ्कअनुसार हुलाक निर्देशनालयमार्फत आयात निर्याततर्फ समान ६३ हजार ८१० हुलाक सामग्री ओसारपसार गरिएको छ । तीमध्ये सबैभन्दा धेरै ‘रजिष्ट्री’ चिठीको कारोबार भएको छ । जसमा आयात निर्याततर्फ समान ५२ हजार ६९९ रजिष्ट्री चिठी दर्ता भई सेवा प्रवाह गरिएको सूचना अधिकारी अनिश तामाङले जानकारी दिनुभयो । विदेशबाट आउने तथा विदेश पठाइने पत्र सेवा पनि जारी छ । यसमा समान ४७० पत्र आयात निर्यात गरिएका छन् । कार्यालयले २४ घण्टाभित्र प्रदान गर्ने द्रुत डाँक सेवा (ईएमएस) पनि सञ्चालन गरिरहेको छ । यस सेवाबाट वर्षभर दुई हजार ७२३ सामग्री आदानप्रदान गरिएका छन् । हुलाक निर्देशनालयले सञ्चार क्षेत्रको नियमनसमेत निरन्तर गरिरहेको छ । एक वर्षमा २१ वटा अनलाइन सञ्चार माध्यम, ३७ वटा प्रेस प्रतिनिधि परिचयपत्र तथा १५ वटा एफएम रेडियोको इजाजत तथा लाइसेन्स नवीकरण गरिएको छ । राजस्व सङ्कलनतर्फ टिकट बिक्री तथा अन्य शीर्षकबाट रु ६४ लाख ३१ हजार ९०३ राजस्व सङ्कलन भएको निर्देशनालयले जनाएको छ । हुलाक निर्देशक सिद्धराज जोशीले सीमित स्रोतसाधन र जनशक्तिका बीच पनि आफूहरुले निरन्तर सेवा दिइरहेको बताउनुभयो । उहाँले हुलाक सेवाको महत्त्व, यसको उपयोगितालगायत विषयमा प्रचार गर्ने हुलाक प्रतिनिधिलाई पुनर्ताजगी तालिम, सूचनाको हकसम्बन्धी अन्तरक्रिया, विद्यालयमा हुलाक सेवाबारे कक्षा सञ्चालन तथा हुलाक सेवा प्रचारप्रसार कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । “सरकारले हुलाक सेवाको सुधार तथा आधुनिकीकरण गर्ने नीति लिएको छ । एक सय दिने कार्यसूचीको बुँदा नं २७ मा पनि यो विषय समेटिएको थियो । सोअनुसार हामीले प्रदान गर्नुपर्ने सेवा सुरु गरिसकेका छौँ, अब आधुनिक, स्रोतसाधन सम्पन्न बनाएमा यस सेवालाई थप सशक्त बनाउन सकिन्छ भन्ने हाम्रो विश्वास छ”, निर्देशक जोशीले भन्नुभयो । —

प्रकाशित : ९ श्रावण २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६