काठमाडौँ, १० साउन
राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका लागि कृत्रिम बौद्धिकता सीप ः व्यावसायिक क्षमता अभिवृद्धि’ विषयक दुईदिने कार्यशाला सम्पन्न भएको छ । कार्यशालामा एआई विज्ञ अजय शर्माले प्रशिक्षकका रूपमा सहजीकरण गर्दै फोटो पत्रकारितामा कृत्रिम बौद्धिकताको प्रभावकारी प्रयोग, अन्तरराष्ट्रिय मापदण्डअनुसार समाचार तस्बिरको विवरण (क्याप्सन) लेखन, समाचार श्रव्यदृश्य सामाग्री निर्माण, गुणस्तरीय ध्वनि अभिलेखन, मोबाइल पत्रकारिता, कृत्रिम बौद्धिकतामार्फत तस्बिर तथा श्रव्यदृश्य सम्पादन, तथ्य प्रमाणीकरण, कृत्रिम बौद्धिकताको नैतिक प्रयोग तथा डिजिटल पत्रकारिताको भविष्यलगायत विषयमा सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण दिनुभयो । सहभागीहरूले वास्तविक समाचार सामग्रीमा आधारित अभ्यासमार्फत व्यावसायिक तस्बिर विवरण लेखन, श्रव्यदृश्य समाचार निर्माण, ध्वनि अभिलेखन तथा कृत्रिम बौद्धिकता उपकरणको सुरक्षित र जिम्मेवार प्रयोगसम्बन्धी व्यावहारिक सीप हासिल गरेका थिए । समाचार कक्षमा कृत्रिम बौद्धिकताको प्रभावकारी उपयोग, उत्पादकत्व अभिवृद्धि तथा सम्पादकीय मापदण्ड कायम राख्ने उपायबारे पनि प्रशिक्षण दिइएको थियो । बागमती प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य रामकृष्ण महर्जनले सहभागीलाई प्रमाणपत्र तथा प्रशिक्षकलाई प्रशंसापत्र प्रदान गर्नुभयो । उहाँले कृत्रिम बौद्धिकता सबै क्षेत्रका लागि अपरिहार्य बन्दै गएको उल्लेख गर्दै यसको सही प्रयोगले कार्यलाई छिटो, सहज र प्रभावकारी बनाउने भए पनि दुरुपयोगले गम्भीर चुनौती सिर्जना गर्न सक्ने भएकाले जिम्मेवारीपूर्वक प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालका पूर्वअध्यक्ष राजभाइ सुवालले आधुनिक फोटो पत्रकारितामा कृत्रिम बौद्धिकतासम्बन्धी ज्ञान अत्यावश्यक भइसकेको उल्लेख गर्दै समयअनुकूल प्रविधि आत्मसात् नगर्ने पत्रकार भविष्यमा प्रतिस्पर्धामा पछि पर्न सक्ने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा स्वस्तिश्री गुरुकुल आइबी वल्र्ड स्कुलका प्रबन्ध निर्देशक मिना महर्जन, प्राचार्य नेहा केसीलगायतको उपस्थिति रहेको थियो । एनएफपिजे नेपालका अध्यक्ष प्रदीपराज वन्तले सञ्चार प्रविधिको तीव्र विकाससँगै फोटो पत्रकारलाई कृत्रिम बौद्धिकतामैत्री सीप प्रदान गरी व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले कार्यशालाको आयोजना गरिएको बताउनुभयो ।










प्रतिक्रिया