ब्रेकिंग न्युज

कांग्रेस नेता आङ्देम्बेद्वारा सद्भाव र धार्मिक सहिष्णुताका लागि अपिल



काठमाडौँ, १४ साउन

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले देशको विभिन्न स्थानमा पछिल्ला केही दिनदेखि देखिएको तनावपूर्ण घटनाक्रमले चिन्तित तुल्याएको उल्लेख गर्दै शान्ति, सद्भाव र धार्मिक सहिष्णुताका लागि अपिल गर्नुभएको छ । नेता आङ्देम्बेले आज एक विज्ञप्तिमार्फत सुनसरीको देवानगञ्ज नगरपालिका–३ कप्तानगञ्जदेखि फैलिएको तनाव सिरहाको गोलबजार, धनुषाको जनकपुर हुँदै पर्साको वीरगञ्जसम्मै फैलिएको र यसबीचमा तीन नागरिकले ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । “नेपाल विविध धर्म, भाषा, संस्कृति र समुदायको साझा फूलबारी हो । यही विविधताबीचको एकता हाम्रो सबैभन्दा ठूलो शक्ति हो”, उहाँले भन्नुभएको छ, “हामीले सदियौँदेखि एकअर्काको धर्म, संस्कृति र परम्पराको सम्मान गर्दै आएका छौँ । आपसी भाइचारा, बन्धुत्व र सामाजिक सद्भाव कायम राखेका छौँ । यसलाई कुनै पनि हालतमा कमजोर हुन दिनु हुँदैन ।” नेता आङ्देम्बेले धर्म र पूजा गर्ने तौरतरिका, संस्कृति र परम्परा फरक भए पनि मानवता सबैभन्दा ठूलो धर्म भएको बताउँदै हरेक धर्मले प्रेम, करुणा, सहिष्णुता, क्षमा र शान्तिको सन्देश दिने उल्लेख गर्नुभएको छ । कुनै पनि धर्मले घृणा, हिंसा वा वैमनस्य नसिकाउने भएकाले धर्मका नाममा, जातको नाममा एकअर्काप्रति अविश्वास र द्वेष फैलाउने कामबाट सबै सचेत हुन आवश्यक रहेको उहाँले उल्लेख गर्नुभएको छ । नेता आङ्देम्बेले सबै राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज, सञ्चारमाध्यम र युवापुस्तालाई अहिले आरोपप्रत्यारोप नभई समाजलाई जोड्ने काममा लाग्न र एकअर्कालाई दोषी देखाउने नभई विश्वासको वातावरण बनाउन आग्रह गर्नुभएको छ । उहाँले सरकारले पनि नागरिकको जीवन र सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्दै बल प्रयोगभन्दा संवाद, विश्वास र कानुनी प्रक्रियामार्फत परिस्थितिलाई सामान्य बनाउन तत्काल प्रभावकारी पहल गर्नुपर्नेमा जोड दिनुभएको छ । नेता आङ्देम्बेले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक कदम चाल्नुपर्ने बताउनुभएको छ । –––

प्रकाशित : १४ श्रावण २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६