अन्तर्राष्ट्रिय

हर्मुज खोल्न ट्रम्पको चेतावनी



संयुक्त राज्य अमेरिका, साउन २० –

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलघाँटी चाँडै पुनः सञ्चालनमा नआए इरानले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिनुभएको छ । उहाँले जलघाँटी पुनः खोल्ने विषयमा अमेरिका, इरान र ओमानबीच वार्ता सकारात्मक दिशामा अघि बढिरहेको बताउँदै सम्झौता एक–दुई दिनभित्र हुन सक्ने विश्वास व्यक्त गर्नुभएको छ ।

क्यालिफोर्निया भ्रमणका क्रममा फक्स न्युजसँग कुरा गर्दै ट्रम्पले हर्मुज जलघाँटी ‘धेरै चाँडै’ खुल्ने अपेक्षा व्यक्त गर्नुभयो । उहाँले त्यसो नभए इरान ‘धेरै नराम्ररी प्रभावित’ हुने चेतावनी दिँदै अन्ततः जलघाँटी खुल्ने दाबी गर्नुभयो ।

ट्रम्पको यो प्रतिक्रिया अमेरिका, इरान र ओमानबीच जलघाँटी पुनः सञ्चालनका लागि अन्तरिम सम्झौता अन्तिम चरणमा पुगेको र अमेरिकाले बुधबार त्यसको घोषणा गर्न सक्ने एक्सियोसको समाचार सार्वजनिक भएपछि आएको हो ।

उहाँले अमेरिका र इरानबीचको वार्ता सकारात्मक रहेको उल्लेख गर्दै दुवै पक्ष द्वन्द्व अन्त्य गर्ने उपाय खोज्ने प्रयासमा रहेको बताउनुभयो । “कार्य नै सबैभन्दा महत्त्वपूर्ण हो, उनीहरू सम्झौता गर्न चाहन्छन्, के हुन्छ हेर्दै जाऔँ”, ट्रम्पले भन्नुभयो । उहाँले आफूलाई कूटनीतिक प्रयासका लागि पर्याप्त समय रहेको पनि बताउनुभयो ।

पछि क्यालिफोर्नियाबाट लास भेगासतर्फ प्रस्थान गर्नुअघि एयर फोर्स वानमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले सम्झौता ‘भोलि वा पर्सिसम्म’ हुन सक्ने विश्वास व्यक्त गर्नुभयो ।

एक्सियोसका अनुसार प्रस्तावित अन्तरिम व्यवस्थाअन्तर्गत इरान र ओमानबीच हर्मुज जलघाँटीमा ६० दिनका लागि सुरक्षित समुद्री आवागमन सुनिश्चित गरिनेछ । यस अवधिमा कुनै पनि जहाजबाट टोल वा पारवहन शुल्क नलिइने व्यवस्था रहनेछ र आवश्यक परे उक्त सम्झौता थप विस्तार गर्न सकिने जनाइएको छ ।

सम्झौताअनुसार खाडीतर्फ प्रवेश गर्ने जहाजहरूले इरानी जलक्षेत्रको उत्तरी जलमार्ग प्रयोग गर्नेछन् भने बाहिरिने जहाजहरूले ओमानको क्षेत्रीय जलक्षेत्र हुँदै दक्षिणी मार्गबाट आवागमन गर्ने व्यवस्था रहने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

विश्वव्यापी तेल र प्राकृतिक ग्यास आपूर्तिको प्रमुख समुद्री मार्गका रूपमा रहेको हर्मुज जलघाँटीमा देखिएको पछिल्लो तनावले अन्तर्राष्ट्रिय ऊर्जा बजार र क्षेत्रीय सुरक्षालाई प्रभावित पार्ने चिन्ता बढ्दै आएको छ । एएफपी

प्रकाशित : २० श्रावण २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६