कपिलवस्तु २६ साउन
विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएकाले गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भएको छ । आर्थिक वर्ष २०८२÷८३ मा स्वास्थ्य शाखामार्फत सञ्चालन गरिएका कार्यक्रमहरूको वार्षिक समीक्षामो सो कुरा बताउनु भएको हो । उनले उपलब्ध स्रोत र जनशक्तिबाट सक्दो बढी उपयोग गरी भएका कमीकमजोरीलाई सुधार गर्दै स्वास्थ्य संस्थाबाट नागरिकले सहज, गुणस्तरीय र प्रभावकारी सेवा पाउने वातावरण निर्माण गर्न आवश्यक रहेको उल्लेख गर्दै समीक्षा कार्यक्रमले आगामी योजना निर्माणमा महत्वपूर्ण आधार प्रदान गर्ने बताए । अध्यक्ष थापाले स्वास्थ्य क्षेत्रमा भएका उपलब्धिको संरक्षण गर्दै अझै सुधार गर्नुपर्ने पक्ष पहिचान गरी आगामी वर्षका कार्यक्रमलाई परिणाममुखी बनाउनुपर्नेमा जोड दिए । उनले स्वास्थ्यकर्मी, स्वास्थ्य संस्था तथा साझेदार संघसंस्थाबीचको सहकार्यले गाउँपालिकाको स्वास्थ्य सेवा थप प्रभावकारी बन्ने विश्वास व्यक्त गरे ।यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले उपलब्ध तथ्यांक र प्रगतिको समीक्षा गर्दै आगामी कार्यक्रम तथ्यांकमा आधारित र आवश्यकतामुखी बनाउनुपर्ने बताए । यसैगरी वडा नम्बर ६ का अध्यक्ष प्रेम बहादुर कलवारले गाउँघरका नागरिकले सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गर्न स्थानीय तहबाट निरन्तर प्रयास आवश्यक रहेको बताए । कार्यक्रममा गाउँपालिकाभित्र रहेका स्वास्थ्य चौकी, स्वास्थ्य सेवा केन्द्र, बर्थिङ सेन्टर तथा आधारभूत अस्पतालबाट प्रदान हुँदै आएका स्वास्थ्य सेवाको समग्र अवस्थाबारे समीक्षा गरिएको स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारीले जानकारी दिए ।वार्षिक समीक्षामा स्वास्थ्य शाखाका कर्मचारी, विभिन्न स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधि, स्वास्थ्यकर्मी र स्वास्थ्य क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । समीक्षा कार्यक्रमा स्वास्थ्य कार्यक्रमको उपलब्धी, चुनौती र आगामी कार्यदिशा पहिचान गर्न महत्वपूर्ण आधार तयार गरेको जनाइएको छ ।
२६ श्रावण २०८३, मंगलबार









प्रतिक्रिया