जीवनशैली

घरआँगनमै कर सेवा : बुद्धभूमिबाट स्थानीय तहमा नयाँ अभ्यास



कपिलवस्तु, २& साउन ।

बुद्धभूमि नगरपालिकाले करसम्बन्धी आधारभूत सेवा स्थानीय तहबाटै उपलब्ध गराउन थालेपछि सर्वसाधारण तथा व्यवसायीलाई कर कार्यालय धाउनुपर्ने बाध्यता घट्ने भएको छ । नगरपालिकाले आन्तरिक राजस्व कार्यालय कृष्णनगरसँगको समन्वयमा स्थानीयस्तरमै कर सेवा सञ्चालनमा ल्याएको हो ।

सेवा शुभारम्भ कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यमकान्त पाण्डे र आन्तरिक राजस्व कार्यालय कृष्णनगरका प्रमुख कृष्णप्रसाद न्यौपानेबीच आधारभूत कर सेवा प्रवाहसम्बन्धी सम्झौता हस्तान्तरण गरिएको थियो । सेवा सुरु भएकै दिन नगरपालिकामा दर्ता भएका दुई व्यवसायलाई स्थायी लेखा नम्बर (प्यान) समेत प्रदान गरिएको थियो ।

अब नगरपालिकाबाट भ्याटबाहेक प्यान, आयकर, अन्तःशुल्क, कर चुक्ता लगायतका आधारभूत करसम्बन्धी सेवा लिन सकिनेछ । भ्याटसम्बन्धी काम भने आन्तरिक राजस्व कार्यालयबाटै गर्नुपर्नेछ ।

स्थानीय तहबाटै कर सेवा उपलब्ध भएपछि सामान्य करसम्बन्धी कामका लागि कृष्णनगर वा तौलिहवा पुग्नुपर्ने अवस्थाको अन्त्य हुने नगरपालिकाको अपेक्षा छ । यसले सेवाग्राहीको समय र यातायात खर्च घटाउनुका साथै करसम्बन्धी कामलाई थप सहज र व्यवस्थित बनाउने विश्वास गरिएको छ ।

आन्तरिक राजस्व कार्यालय कृष्णनगरका प्रमुख न्यौपानेले कर सेवा नागरिकको नजिक पुर्‍याउने उद्देश्यले स्थानीय तहबाट सेवा सुरु गरिएको बताउनुभयो । उहाँका अनुसार स्थानीय तहलाई क्रमशः जिम्मेवारी हस्तान्तरण गर्दै जाने वातावरण निर्माणका लागि यो सुरुआती अभ्यास हो ।

“स्थानीय तहबाटै कर सेवा पाएपछि सेवाग्राहीलाई कार्यालयसम्म पुग्न लाग्ने समय र खर्च बचत हुन्छ,” उहाँले भन्नुभयो, “करसम्बन्धी काममा व्यवसायी र स्थानीयको सहयोग पनि उत्तिकै आवश्यक छ ।”

कार्यक्रममा कर अधिकृत पीताम्बर न्यौपानेले कर शिक्षा तथा करदाताका दायित्वबारे जानकारी गराउनुभयो । उहाँले व्यवसाय सञ्चालन गर्दा करसम्बन्धी कानुनी प्रक्रिया र दायित्वबारे जानकारी राख्न व्यवसायीलाई आग्रह गर्नुभयो ।

बुद्धभूमि उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष विष्णुप्रसाद पौडेलले व्यवसायीलाई करका कारण निरुत्साहित गर्नेभन्दा कर प्रणालीलाई सरल, सहज र सेवामुखी बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले व्यवसायीले सहज रूपमा करसम्बन्धी सेवा प्राप्त गर्ने वातावरण बनाउन स्थानीय सरकार र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो ।

नगर प्रमुख केशवकुमार श्रेष्ठले नागरिकलाई कर तिर्न प्रोत्साहित गर्ने र कर सेवा सहज बनाउने उद्देश्यले नगरपालिकामै सेवा सञ्चालन गरिएको बताउनुभयो । उहाँले कर छल्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै राज्यप्रतिको दायित्व पूरा गर्न व्यवसायी तथा करदातालाई आग्रह गर्नुभयो ।

नगर प्रमुख श्रेष्ठका अनुसार कर सेवा सञ्चालनका लागि नगरपालिकाका छ जना कर्मचारीले आवश्यक तालिम लिएका छन् । कर्मचारीको अनुपस्थितिमा पनि सेवा अवरुद्ध नहोस् भनेर वैकल्पिक व्यवस्थासहित सेवा सञ्चालनको तयारी गरिएको छ ।

उहाँले स्थानीय तहबाटै कर सेवा उपलब्ध हुन थालेपछि करदाताले सामान्य कामका लागि टाढाको कार्यालय धाउनुपर्ने बाध्यता हट्ने बताउनुभयो । “सेवा नागरिकको घरआँगनमा पुर्‍याउने हाम्रो उद्देश्य हो,” उहाँले भन्नुभयो, “यसबाट सेवाग्राहीको समय र खर्च दुवै बचत हुनेछ ।”

आन्तरिक राजस्व कार्यालय कृष्णनगरका अनुसार बुद्धभूमि नगरपालिकाबाट सुरु भएको आधारभूत कर सेवा कपिलवस्तु जिल्लामै स्थानीय तहबाट सञ्चालन गरिएको पहिलो सेवा हो । स्थानीय सरकारमार्फत कर सेवा विस्तार गर्ने अभ्यासले करदातालाई सहज बनाउनुका साथै कर प्रणालीप्रतिको पहुँच र सहभागिता बढाउने अपेक्षा गरिएको छ ।

आन्तरिक राजस्व कार्यालय कृष्णनगरको समन्वय तथा बुद्धभूमि नगरपालिकाको आयोजनामा सेवा शुभारम्भ कार्यक्रम गरिएको हो ।

प्रकाशित : २७ श्रावण २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६