ब्रेकिंग न्युज

रेसुङ्गामा श्रद्धालुको घुइँचो



गुल्मी, २८ साउन

रेसुङ्गामा श्रद्धालुहरुको घुइँचो लागेको छ । रेसुङ्गा धार्मिक क्षेत्र हो । विगतको तुलानामा यस वर्ष घुइँचो बढेपछि स्थानीय खुसी भएका छन् । धर्ममा आस्था राख्ने श्रद्धालुहरु साउन महिनामा एकपटक रेसुङ्गा पुग्नुले भीड बढ्ने गरेको हो । रेसुङ्गा संरक्षण समितिले साउनमा एकमहिने धार्मिक मेलाका आयोजना गर्ने गरेको छ । उक्त मेला अवलोकन तथा धर्म गर्न यस क्षेत्रमा भक्तजनको उपस्थिति हुने गर्दछ । रेसुङ्गालाई धार्मिक परम्पराअनुसार तपोभूमि तथा सिद्ध क्षेत्रका रुपमा लिइन्छ । त्रेतायुगदेखि ऋषिमुनिहरुले यस क्षेत्रमा तपस्या गरेको भन्ने धार्मिक आस्था र विश्वास कायम छ । यस क्षेत्रको धार्मिक महत्वसँग जोडिएको पोखरीलाई बालसिद्ध पोखरीका रुपमा मानिन्छ । धार्मिक मान्यताअनुसार यहाँ बालसिद्धलाई भगवान् शिवका रुपमा पूजा गर्ने गरिन्छ । धार्मिक आस्थाका कारण साउन महिनाभर रेसुङ्गा पोखरीमा स्नान गर्नेको घुइँचो लाग्ने गर्दछ । रेसुङ्गास्थित माहापोखरीलाई श्रद्धालुले पवित्र तीर्थस्थलका रुपमा लिने गरेका छन् । धार्मिक मान्यताअनुसार माहापोखरीमा स्नान गरी नजिकै रहेको यज्ञशाला पुगी पूजा गरेपछि सिद्धको दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने र सन्तान प्राप्ति हुने धार्मिक विश्वास रहँदै आएको छ । यही आस्थाका कारण टाढाबाट सन्तान प्राप्तिको चाहना गर्ने श्रद्धालुहरु रेसुङ्गा क्षेत्रमा आउने गर्दछन् । पोखरीमा स्नान गर्न गुल्मी, पाल्पा, रुपन्देही, बागलुङ, अर्घाखाँची, स्याङ्जा, नवलपरासी र कपिलवस्तुलगायत जिल्लाबाट श्रद्धालुहरु आउने गर्दछन् । रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले सन्तान नहुनेहरु एकपटक यहाँ आउने गर्छन् भन्नुहुन्छ । “यो एउटा तपोभूमि क्षेत्र हो, त्रेतायुगदेखि ऋषिमुनिहरुले तपस्या गरेको हुँदा यसलाई सिद्धक्षेत्र पनि भनिन्छ”, उहाँले भन्नुभयो । रेसुङ्गा यज्ञशालाका पण्डित कृष्ण पन्थीका अनुसार साउनमा खेतीपाती तथा पशुपालनगर्ने कृषकहरुले मकै, दूधलगायत सामग्री सिद्ध मन्दिरमा चढाउने प्रचलन छ । त्यसैले साउनमा रेसुङ्गा जाने र पोखरीमा स्नान गरी सिद्धको पूजा गर्ने यहाँको मुख्य परम्परा छ । साउन महिनाभर रेसुङ्गास्थित यज्ञशाला मन्दिरमा दैनिक हवन, रुद्री, गीता तथा चण्डी पाठलगायत धार्मिक अनुष्ठान सञ्चालन गरिएको छ । यहाँ राति अबेरसम्म भजन, कीर्तन हुनेहुँदा कतिपय श्रद्धालु रातभर यज्ञशालामा जाग्राम बसेर भजनकीर्तनमा रमाउने गर्छन् । रेसुङ्गा क्षेत्रमा रहेको पोखरीको पानीले स्नान गरेपछि चारधाम जान नपर्ने र आफूले अञ्जानमा गरेका सम्पूर्ण पाप नष्ट भई समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ । उक्त विश्वासका कारण यहाँ आउने धार्मिक पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । रेसुङ्गा धार्मिक तथा ऐतिहासिक महत्वसँगै प्राकृतिक सुन्दरता र जैविक विविधताका कारण पनि प्रसिद्ध मानिन्छ । —

Powered By  Orson Infotech

प्रकाशित : २८ श्रावण २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६