राँझा (बाँके), २९ साउनः
सडक पूर्वाधार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ मा २५० योजना कार्यान्वयनको तयारी थालेको छ । लुम्बिनी प्रदेश सरकारले चालु आवका लागि बाँकेमा विनियोजित योजनाको कार्यान्ववयनका लागि जिल्लाका विभिन्न स्थानमा पुगेर स्थलगत रूपमा लगत अनुमान तयार पार्ने कार्य सुरु गरिएको सडक पूर्वाधार कार्यालयका निमित्त प्रमुख चन्द्रबहादुर शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकेमा सडक पूर्वाधार कार्यालयअन्तर्गत चालु आवमा करिब २५० योजना रहेका छन् । प्राविधिकलाई जिल्लाका आठवटै स्थानीय तहगत रूपमा जिम्मेवारी दिएर लगत अनुमान बनाउने काम सुरु गरिएको छ । योजना विवादरहित, गुणस्तरीय र समयमै सम्पन्न गर्न प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष वडा सदस्यसहित स्थानीय बासिन्दासँग समन्वय र सहकार्यमा काम अघि बढाइएको उहाँको भनाइ छ । निमित्त प्रमुख शाह, इन्जिनियर गोर्खबहादुर बुढा, अनिल चौधरीसहितको टोलीले जिल्लामा पदेश सरकारबाट छुट्याइएका विभिन्न योजनाको स्थलगत अनुगमनसहित लगत अनुमानका लागि प्रारम्भिक सुरुआत गरेको छ । गत आवमा अधुरा आयोजनालाई समेत चालु आवमा सम्पन्न गर्नेगरी बजेट विनियोजन भएको छ । चालु आवमा प्रदेश सरकारले ग्रामीण सडक विकासमा प्राथमिकता दिएको छ । केही दिनमै लगत अनुमान तयार पारी बोलपत्र आह्वानको तयारी भइरहेको सडक पूर्वाधार कार्यालयका निमित्त प्रमुख शाहीले जानकारी दिनुभयो । ––










प्रतिक्रिया