ब्रेकिंग न्युज

सरकार धार्मिक एवं प्राकृतिक सम्पदा संरक्षणमा प्रतिबद्ध छः मन्त्री पौडेल



महोत्तरी, ३१ साउन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले सरकार धार्मिक एवं प्राकृतिक सम्पदा संरक्षणमा प्रतिबद्ध रहेको बताउनुभएको छ । महोत्तरीको बर्दिवास–५ स्थित टुटेश्वरनाथ महादेव मन्दिरको अवलोकन र पूजाअर्चना गर्दै मन्त्री पौडेलले टुटेश्वरनाथ महादेव मन्दिर संरक्षण समितिको ध्यानाकर्षण पत्र ग्रहण गर्दै सरकार मुलुकका धार्मिक, सांस्कृतिक एवं प्राकृतिक सम्पदाको संरक्षण र समयोचित विकासका कुरामा प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । समितिका अध्यक्ष राजाराम यादवबाट ध्यानाकर्षण पत्र ग्रहण गर्दै मन्त्री पौडेलले भन्नुभयो, “सरकार यो धार्मिकस्थलको सम्वद्र्धन र पर्यटकीय सम्भावना विकासबारे स्थानीय समुदायसँग समन्वय गर्दै अघि बढ्न प्रतिबद्ध छ ।” मधेसको कैलाश पनि भनिने टुटेश्वरनाथ महादेवबारे अतिप्राचीन किंवदन्ती स्थानीयबाट सुनेको उहाँले बताउनुभयो । यसअघि मन्दिर परिसरमा मन्त्री पौडेलको स्वागत गर्दै समितिका अध्यक्ष यादवले टुटेश्वरधामको रामायण तथा महाभारतकालीन किंवदन्तीबारे अध्ययन अन्वेषण गर्न अनुरोध गर्दै उहाँलाई ध्यानाकर्षणपत्र बुझाउनुभएको थियो । समितिले बर्सेनि साउने बोलबम मेलामा लाखौँ श्रद्धालुको सहभागिता हुने यस ठाउँमा पुग्न बाटोमा विश्राम चौतारी, खानेपानी, बिजुली र शौचालयको प्रबन्धका लागि ध्यानाकर्षणपत्रमार्फत् अनुरोध गरेको छ । सो स्थान नजिकको वन संरक्षण, माण्डवीगङ्गा नदीमा घाट र तटबन्ध एवं धर्मशाला निर्माण एवं मन्दिरको दीर्घकालीन संरक्षण तथा सम्वद्र्धनका उपायबारे विस्तृत परियोजना प्रस्ताव तयार गर्नसमेत समितिले ध्यानाकर्षण गराएको छ । मन्त्री पौडेलसँगै अवलोकन भ्रमणमा रास्वपा मधस प्रदेशका सभापति एवं प्रतिनिधिसभा सदस्य तपेश्वर यादव र महोत्तरी–१ का प्रतिनिधिसभा सदस्य प्रमोदकुमार महतो पनि सहभागी हुनुहुन्छ । मन्त्री पौडेलद्वारा देवस्थलको अवलोकन र पूजाअर्चना यसैबीच मन्त्री पौडेलले आज महोत्तरीका विभिन्न देवस्थलको अवलोकन तथा पूजाअर्चना गर्नुभएको छ । उहाँले बर्दिबास–५ टुटेश्वरस्थित टुटेश्वरनाथ महादेव मन्दिर र बर्दिवास–४ माइस्थानस्थित पञ्चधुरा माई मन्दिरको अवलोकन तथा पूजाअर्चना गर्नुभएको हो । चुरे पहाडी शृङ्खला नजिकका दुवै धार्मिकस्थल अत्यन्त रमणीय ठाउँमा रहेका उहाँले बताउनुभयो । मन्दिर क्षेत्रको अवलोकन र पूजाअर्चनापछि मन्त्री पौडेलले भन्नुभयो, “यी ठाउँ धार्मिक पर्यटनका दृष्टिले सम्भावनायुक्त छन् ।”

प्रकाशित : ३१ श्रावण २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६