अन्तर्राष्ट्रिय

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस



काठमाडौँ, ५ भदौः

आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको अधिकारको संरक्षणका लागि आज विश्वका विभिन्न मुलुकमा ‘आतङ्कवादका पीडितको सम्झना र सम्मानको अन्तरराष्ट्रिय दिवस’ विविध कार्यक्रमका साथ मनाइँदैछ । सन् २०१७ मा संयुक्त राष्ट्रसङ्घको महासभाले आतङ्कवादका पीडित तथा बाँचेकाहरूलाई सम्मान र सहयोग गर्दै उनीहरूको मानव अधिकार तथा मौलिक स्वतन्त्रताको पूर्ण उपभोग सुनिश्चित गर्ने उद्देश्यले हरेक वर्ष अगष्ट २१ मा यो दिवस मनाउने निर्णय गरेको हो । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले महासभाको प्रस्तावअनुसार सन् २०२० मा सार्वजनिक गरेको प्रतिवेदनमा आतङ्कवादका पीडितलाई सहयोग गर्न अन्तरराष्ट्रिय सहकार्य अभिवृद्धिमा जोड दिइएको छ । संयुक्त राष्ट्रसङ्घको विश्वव्यापी आतङ्कवादविरोधी रणनीतिको द्विवार्षिक समीक्षाका क्रममा सदस्य राष्ट्रहरूले आतङ्कवादविरुद्धको प्रयास, हिंसात्मक अतिवादको रोकथाम, अन्तरराष्ट्रिय ऐक्यबद्धता प्रवद्र्धन तथा पीडितका मानव अधिकारको संरक्षणमा उनीहरूको महत्वपूर्ण भूमिकालाई जोड दिँदै आएका छन् । सन् २०१८ मा रणनीतिको छैटौँ समीक्षा भएयता अन्तरराष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय तहमा आतङ्कवादका पीडितप्रतिको सहयोग औपचारिक ऐक्यबद्धतामा मात्र सीमित नरही उनीहरूको अधिकार र आवश्यकतालाई सम्बोधन गर्ने दिशामा अघि बढेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सन् २०१९ मा ‘ग्रुप अफ फ्रेन्ड्स अफ भिक्टिम्स अफ टेरोरिजम’ स्थापना हुनु तथा आतङ्कवादका पीडितलाई सहयोगसम्बन्धी महासभाको प्रस्ताव पारित हुनु यस दिशाका महत्वपूर्ण प्रयास हुन् । सन् २०२३ जुन २२ मा पारित महासभाको आठौँ समीक्षा प्रस्तावले विशेषगरी महिला, बालबालिका तथा आतङ्कवादीबाट हुने यौन तथा लैङ्गिक हिंसाबाट प्रभावित व्यक्तिको अधिकार संरक्षण र आवश्यकतामा ध्यान दिनुपर्नेमा जोड दिएको छ । प्रस्तावले सदस्य राष्ट्रलाई आतङ्कवादका पीडित तथा उनीहरूका परिवारका तत्कालीन, अल्पकालीन र दीर्घकालीन आवश्यकता सम्बोधन गर्न राष्ट्रियस्तरमा समग्र सहायता योजना बनाउन प्रोत्साहन गरेको छ । सन् २०२२ सेप्टेम्बरमा राष्ट्रसङ्घको मुख्यालयमा पहिलो विश्वव्यापी आतङ्कवाद पीडित सम्मेलन आयोजना गरिएको थियो । राष्ट्रसङ्घीय आतङ्कवादप्रतिरोध कार्यालयले विश्वव्यापी पीडित सहायता कार्यक्रम र ‘युनाइटेड नेसन्स भिक्टिम्स अफ टेरोरिजम सपोर्ट पोर्टल’ मार्फत आतङ्कवादका पीडितका अधिकार र आवश्यकताबारे चेतना अभिवृद्धि गर्दै आएको छ । राष्ट्रसङ्घीय आतङ्कवादप्रतिरोध कार्यालयले सदस्य राष्ट्र तथा संयुक्त राष्ट्रसङ्घीय निकायलाई आतङ्कवादविरुद्धको विश्वव्यापी रणनीति कार्यान्वयन गर्न रणनीतिक नेतृत्व, समन्वय र क्षमता अभिवृद्धिमा सहयोग गर्दै आएको छ । साथै, पीडितलाई सहयोग गर्न नागरिक समाज र निजी क्षेत्रका संस्थासँगको सहकार्यलाई पनि यो संस्थाले प्रोत्साहन गरेको छ । ––– तस्बिरः संयुक्त राष्ट्रसङ्घ

प्रकाशित : ५ भाद्र २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६