ब्रेकिंग न्युज

भोटेकोशी बाढीपीडितका लागि डब्ल्युएचओले औषधि र स्वास्थ्य उपकरण पठाउने



काठमाडौँ, १० भदौः

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीबाट प्रभावितका लागि आवश्यक औषधि तथा स्वास्थ्य उपकरण पठाउने भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँगको कुराकानीपछि डब्ल्युएचओले एक हजार जनालाई पुग्ने आधारभूत औषधि तथा स्वास्थ्य उपकरण पठाउन लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । साथै २४ वर्गमिटरका १५ वटा आपतकालीन टेन्ट पनि प्रभावित क्षेत्रमा पठाउन लागिएको जनाइएको छ । मन्त्रालयका अनुसार बाढी प्रभावितका लागि काठमाडौँस्थित वीर अस्पताल र ट्रमा सेन्टरमा १०० वटा आपतकालीन शय्या छुट्याइएको छ । हालसम्म तीन जना घाइतेलाई उद्धार गरी काठमाडौँ ल्याइसकिएको पनि मन्त्रालयले जनाएको छ । आपतकालीन स्वास्थ्य सेवाका लागि काठमाडौँस्थित सङ्घीय अस्पताल, रक्तसञ्चार केन्द्र, बागमती तथा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, नेपाल रेडक्रस, लायन्स र नेपाल स्काउटसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ । नेपाल रेडक्रस र नेपाल स्काउटमार्फत केही चिकित्सक तथा स्वास्थ्यकर्मी प्रभावित क्षेत्रमा पठाउने तयारी भइरहेको छ । मन्त्रालयले ट्रमा सेन्टरमा कार्यरत छ जना चिकित्सक र दुई जना नर्सलाई प्रभावित क्षेत्रमा पठाइसकेको जनाएको छ । त्यसैगरी आवश्यक स्वास्थ्य उपकरणसहित एउटा एम्बुलेन्स पनि प्रभावित क्षेत्रतर्फ प्रस्थान गरिसकेको मन्त्रालयको भनाइ छ । मन्त्रालयका अनुसार रसुवाको धुन्चेस्थित स्वास्थ्य चौकी र रसुवा अस्पतालसँग पनि सहकार्य भइरहेको छ । आपतकालीन स्वास्थ्यसम्बन्धी सहयोग, जानकारी तथा समन्वयका लागि १११५ मा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ ।

प्रकाशित : १० भाद्र २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६