ब्रेकिंग न्युज

डिएनए सुरक्षित राखेर पहिचान हुन नसकेका शव जमिनमुनि व्यवस्थापन गरिँदै



काठमाडौँ, १३ भदौ

बाढी प्रभावित क्षेत्रबाट सङ्कलन गरिएका तर पहिचान गर्न नसकिएका शवको व्यवस्थापन सुरु गरेको छ । ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम ती शव जमिनमुनि व्यवस्थापन गर्न थालिएको हो । शवको डिएनएलगायत अन्य पहिचान सहयोग गर्ने आधारहरू सुरक्षित राखेर मात्रै सरकारले शवलाई जमिनमुनि व्यवस्थापन गर्न लागेको हो । पछि आफन्त/परिवारसँग डिएनए ‘म्याच’ गराइ ती शव अन्त्येष्टिका लागि जिम्मा लगाइनेछ । निर्देशिकामा भविष्यमा हकवाला पहिचान भएमा गाडिएको शव वा मानव अङ्ग उत्खनन गरी सम्मानपूर्वक परिवारलाई बुझाउनुपर्ने व्यवस्था गरेको छ । यद्यपि सरकारको यो कार्यलाई लिएर भ्रम सृजना गर्ने प्रयास भइरहेको गृहमन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले शव जमिनमुनि व्यवस्थापन गर्दा निर्देशिका पालना गरेका छौँ, त्यति मात्रै होइन वैज्ञानिक प्रक्रियासमेत पूरा गरेका छौँ । त्यसैले यस विषयलाई लिएर जनमानसमा भ्रम नफैलाउन आग्रह गर्दछौँ ।” शव लामो समयसम्म अलपत्र पर्दा जनस्वास्थ्यमा असरपर्ने जोखिम बढेको थियो । त्यसकारणले पनि शवको जमिनमुनि व्यवस्थापन अत्यावश्यक भएको स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्यविद् डा अमृत पोखरेलको भनाइ छ । “शव लामो समयसम्म व्यवस्थापन नगरी राख्दा वातावरणीय तथा स्वास्थ्य जोखिम बढ्दै जाने भएकाले वैज्ञानिक विधिबाट व्यवस्थापन गर्नु आवश्यक हुन्छ । पहिचान नभएका शव तथा मानव अङ्गको डिएनए नमुना सङ्कलन गरी सुरक्षित राख्दै जमिनमुनि व्यवस्थापन गर्नु वैज्ञानिक र जिम्मेवार कदम हो”, उहाँले भन्नुभयो । शव आफन्तले कसरी पहिचान गर्ने ? पहिचान नभएका शव गाडिएपछि आफन्तले कहिल्यै पहिचान गर्न नसक्ने भन्ने होइन । सरकारले प्रत्येक शवको डिएनए नमुना सुरक्षित राख्ने व्यवस्था गरेको छ । त्यसैगरी, प्रत्येक शवलाई छुट्टै र विशिष्ट सङ्केत नम्बर दिइनेछ । शवको विवरण, सङ्केत नम्बर र डिएनए नमुनासहितको अभिलेख सुरक्षित राखिने भएकाले भविष्यमा कसैले आफ्नो आफन्त भएको दाबी गरेमा वैज्ञानिक परीक्षणमार्फत पहिचान गर्न सकिनेछ । अर्थात्, शवलाई जमिनमुनि व्यवस्थापन गरिए पनि पहिचानका लागि आवश्यक वैज्ञानिक प्रमाण सुरक्षित रहनेछ । पहिचान खुलेपछि शव निकाल्न मिल्छ ? ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ ले भविष्यमा हकवाला पहिचान भएमा गाडिएको शव वा मानव अङ्ग उत्खनन गरी सम्मानपूर्वक परिवारलाई बुझाउनुपर्ने व्यवस्था गरेको छ । संशोधित निर्देशिकाले विपद्का कारण मृत्यु भएको पुष्टि भएपछि पहिचानका लागि आवश्यक परीक्षण गर्ने प्रक्रियालाई पनि सहज बनाएको छ । —

प्रकाशित : १३ भाद्र २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६