वीरगन्ज (पर्सा), २१ कात्तिक
सर्वसाधारणलाई सहज, सरल र सुलभ रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले नेपाल टेलिकमले अब सेवाग्राहीको घरमै सिमकार्ड पुर्याउने सेवा सुरु गरेको छ । टेलिकमले हुलाक सेवामार्फत पर्सा जिल्लाभरिका सेवाग्राहीको घरमै नेपाल टेलिकमको सिमकार्ड पुर्याउने गरी हुलाक सेवा विभाग र नेपाल टेलिकमबीच सम्झौता भएको छ । सेवाग्राहीलाई सहज रूपमा घरदैलोमै सेवा उपलब्ध गराउने उद्देश्यले सिमकार्ड वितरण सुरु गरिएको जिल्ला हुलाक कार्यालयका हुलाक अधिकृत नमनाथ यादवले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल टेलिकमको अनलाइन फाराम भरेपछि सेवाग्राहीले हुलाक सेवामार्फत घरमै सिमकार्ड प्राप्त गर्न सक्नेछन् । यो सेवाको सुरुवातसँगै सिमकार्ड लिन टेलिकम कार्यालय वा अन्य वितरण केन्द्रसम्म पुग्नुपर्ने बाध्यता हटेको उहाँको भनाइ छ । अब नागरिकले घरमै बसेर सरकारी सेवा प्राप्त गर्न सक्नेछन् । सेवा सुरु भएसँगै हुलाक कार्यालयका कर्मचारीले वीरगञ्ज महानगरपालिका–१० रानीघाट निवासी किरणकुमारी चौहानको घरमै पुगेर पहिलोपटक सिमकार्ड उपलब्ध गराउनुभएको छ । हुलाक सेवा विभाग पर्साले अहिलेसम्म चिठीपत्र, पार्सल, द्रुत डाँक सेवा (ईएमएस), र हुलाक बचत बैंकसम्बन्धी सेवाहरू मात्रै गर्दै आएको थियो । त्यसैगरी हुलाक सेवा विभाग, यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच भएको नयाँ सम्झौताअनुसार सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) लगायत महत्त्वपूर्ण सरकारी कागजातहरू हुलाकमार्फत ढुवानी र वितरण गर्ने काम पनि हुँदै आएको छ । विभागले हुलाक वस्तु तथा पार्सलहरू कहाँ पुगे भनेर अनलाइनबाटै हेर्न मिल्ने गरी ट्र्याकिङ प्रणालीलाई पनि थप व्यवस्थित बनाइएको जनाएको छ । —









प्रतिक्रिया