कर्णाली

‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’



कर्णाली, १६ असोज

कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले तीन तहका सरकारबीचको आपसी समन्वय र सहकार्यबाट मात्र सङ्घीयता सफल हुने बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, प्रदेश तथा स्थानीय शासन सवलीकरण, प्रदेश कार्यक्रम सहयोग एकाइद्वारा आज मुगुको सदरमुकाम गमगढीमा आयोजित अन्तरक्रियामा मुख्यमन्त्री शाहीले सङ्घीय व्यवस्था कार्यान्वयनका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच आवश्यक समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँका अनुसार विकास निर्माणका काममा तीन तहबीच पर्याप्त समन्वय र सहकार्य गरेमा प्रभावकारी नजिता प्राप्त हुन्छ । “विकास निर्माण, सेवा प्रवाह तथा शासन सञ्चालनमा प्रभावकारी समन्वय, सहकार्य र सहजीकरणको खाँचो पर्दछ । यसमा तहका संयन्त्र भिन्नभिन्न तरिकाले काम गर्दा उल्टै समस्या हुनसक्छ”, मुख्यमन्त्री शाहीले भन्नुभयो, “हामी जति आपसमा समन्वय, सहकार्य र सहअस्तित्वको भावनाका साथ अघि बढ्छौँ, त्यति जनतालाई राहत र सुविधा पाउने अवस्था सिर्जना हुन्छ ।” उहाँले प्रदेश सरकारका नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न स्थानीय तह र सङ्घीय सरकारका जिल्लास्थित कार्यालयको समेत महत्त्वपूर्ण भूमिका रहने धारणा राख्नुभयो । प्रदेश सरकारले स्थानीय तह र सङ्घीय निकायसँग गर्नुपर्ने समन्वयमा कुनै कमी हुन नदिने भन्दै उहाँले सहकार्य गरेरै अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा कर्णाली प्रदेश सरकारका प्रमुख सचिव राधिका अर्यालले विकास निर्माण साझा सवाल भएकाले कार्यान्वयनका क्रममा देखापरेका समस्यालाई समाधान गर्न सबैको सहयोग त्यत्तिकै जरुरी रहेको बताउनुभयो । उहाँका अनुसार सबै सरकारको एउटै उद्देश्य भनेको नागरिकका माग, आवश्यकता र समस्यालाई सम्बोधन गरी उनीहरुलाई सुशासन र सेवा प्राप्तिको अनुभूति गराउनु हो । उक्त अन्तरक्रियामा जिल्लास्थित प्रदेशका कार्यालय प्रमुखहरूले स्थानीय तह, सङ्घीय कार्यालयबीच विगतमा समन्वय र सहकार्यमा देखिएका समस्याबारे अवगत गराउनुभएको थियो । कार्यक्रममा सङ्घ, प्रदेश सरकारका जिल्लास्थित कार्यालय प्रमुख, स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता थियो ।

प्रकाशित : १६ आश्विन २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६