देश

नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज



काठमाडौँ, २१ असोजः

नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज यहाँ हुँदैछ । नेपाल र रुसले कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्ष मनाइरहेका बेला हुन लागेको बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव अमृतबहादुर राईले र रुसी प्रतिनिधिमण्डलको नेतृत्व नेपाल भ्रमणमा रहेका रुसी उपविदेशमन्त्री आन्द्रेई रुडेन्कोले गर्नुहुनेछ । नेपाल र रुसबीच नियमित परामर्श तथा द्विपक्षीय, क्षेत्रीय र अन्तरराष्ट्रिय विषयमा विचार आदानप्रदान गर्ने उद्देश्यले सन् १९९५ मा परामर्शसम्बन्धी प्रोटोकलमा हस्ताक्षर भएको थियो । संयन्त्रको पहिलो बैठक सन् २००७ मा मस्कोमा र दोस्रो बैठक सन् २०१८ अप्रिल १७ मा काठमाडौँमा भएको थियो । आजको बैठकमा नेपाल–रुस सम्बन्धको समग्र अवस्थाको समीक्षा गर्नुका साथै व्यापार, लगानी, पर्यटन, शिक्षा, संस्कृति तथा प्राविधिक सहयोगलगायतका क्षेत्रमा सहकार्य विस्तारका विषयमा छलफल हुने अपेक्षा गरिएको छ । क्षेत्रीय तथा अन्तरराष्ट्रिय मामिला र बहुपक्षीय मञ्चमा सहकार्यका विषयले पनि बैठकमा स्थान पाउनेछन् । यसैबीच, उपविदेशमन्त्री रुडेन्कोले मङ्गलबार साँझ काठमाडौँमा रुसी दूतावासले आयोजना गरेको ‘ओपन डाइलग’मा बाढीबाट नेपालमा भएको जनधनको क्षतिप्रति नेपाल सरकार र नेपाली जनताप्रति गहिरो समवेदना व्यक्त गर्नुभयो । उहाँले प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको महासभामा जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको जोखिमबारे उठाएको विषयको प्रशंसा गर्दै जलवायु परिवर्तनसम्बन्धी समस्या विश्वका लागि ‘अलार्म बेल’ भएको बताउनुभयो । नेपालले भोगिरहेको विपद्का बेला रुस आफ्नो क्षमताअनुसार सहयोग गर्न तयार रहेको उहाँले बताउनुभयो । रुस आफैँ विभिन्न चुनौती र समस्यासँग जुधिरहेको भए पनि नेपाललाई आवश्यक सहयोगका लागि सम्भव सबै प्रयास गर्न तयार रहेको उहाँको भनाइ थियो । ओपन डाइलगमा उहाँले नेपालका विद्यार्थीलाई उच्च शिक्षाका लागि रुसमा अध्ययन गर्ने अवसरबारे पनि जानकारी दिँदै आगामी शैक्षिक वर्षमा नेपाली विद्यार्थीका लागि ५२ छात्रवृत्ति कोटा उपलब्ध गराउने बताउनुभयो । उपविदेशमन्त्री रुडेन्कोले शिक्षा, संस्कृति तथा जनस्तरको सम्बन्धलाई नेपाल–रुस सम्बन्धको महत्वपूर्ण आधारका रूपमा उल्लेख गर्दै यस्ता क्षेत्रमा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । रुसी उपविदेशमन्त्री रुडेन्कोको नेपाल भ्रमणका क्रममा नेपाली नागरिक रुसी सेनामा भर्ती भएको विषय, बेपत्ता तथा मृत्यु भएका नेपालीका परिवारलाई क्षतिपूर्तिलगायतका विषयमा पनि नेपाली पक्षले छलफलमा उठाउने अपेक्षा गरिएको छ । साथै उहाँले क्षेत्रीय र अन्तरराष्ट्रिय चासोका विषयमा बहुपक्षीय मञ्चहरुमा नेपालसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मस्कोले नेपालसँगको कूटनीतिक महत्वलाई उच्च प्राथमिकता दिएको उहाँको भनाइ थियो । –––

प्रकाशित : २१ आश्विन २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६