जीवनशैली

हुलाकी सडकले फेरिँदै दुर्गम गाउँको मुहार



राँझा (बाँके), २ मङ्सिर

हुलाकी सडक निर्माणसँगै बाँकेका दुर्गम गाउँको आवागमन सहज भएको छ । सडक सञ्जाल विस्तार भएपछि राप्ती सोनारी गाउँपालिकाका बैजापुर, बिनौना र फत्तेपुर तथा नरैनापुर क्षेत्रका बासिन्दालाई सदरमुकाम नेपालगञ्ज आउजाउ गर्न सहज भएको छ । हुलाकी सडकले राप्ती सोनारीको बैजापुरदेखि नरैनापुरको सुइया बघौडासम्मका क्षेत्रलाई नेपालगञ्जसँग सिधा जोडेको छ । विगतमा दुर्गम मानिने नरैनापुरबाट अहिले आधा घण्टामै नेपालगञ्ज पुग्न सकिने नरैनापुरका स्थानीय अगुवा सोहनलाल यादवले बताउनुभयो । “पहिले भारतको बाटो हुँदै नेपालगञ्ज पुग्नुपथ्र्यो, अहिले आधा घण्टामै पुगिन्छ,” उहाँले भन्नुभयो, “हुलाकी सडक नरैनापुरवासीका लागि जीवनरेखा बनेको छ ।” उहाँका अनुसार बाँकेमा राप्ती सोनारीको फत्तेपुरस्थित कुण्डादेखि बैजापुरको नारायणपुरसम्म २१ किलोमिटर, नेपालगञ्ज–गुलरिया सडकखण्डको २८ किलोमिटर र नेपालगञ्जको पुष्पलाल चोकदेखि पूर्वतर्फ १० किलोमिटर हुलाकी सडक निर्माण भएपछि ग्रामीण क्षेत्रको आवागमन सहज भएको हो । हुलाकी सडक निर्माणसँगै राप्ती नदीपारिका बैजापुर, बिनौना र फत्तेपुर क्षेत्रमा आर्थिक तथा व्यावसायिक गतिविधि बढेको राप्ती सोनारी गाउँपालिका–३ का वडाध्यक्ष मीनकुमार चौधरीले बताउनुभयो । “हुलाकी सडक बनेपछि सोनारी क्षेत्रका जनताले विकासको अनुभूति गर्न पाएका छन् । व्यावसायिक कारोबार बढेको छ,” उहाँले भन्नुभयो, “मानिसको आवागमन र चहलपहल बढेसँगै घरेलु तथा साना उद्योग र व्यवसाय पनि फस्टाउँदै गएका छन् ।” सडक निर्माणपछि राप्तीपारिका धार्मिक तथा पर्यटकीयस्थलमा आन्तरिक पर्यटकको आवागमन पनि बढेको उहाँले बताउनुभयो । बैजापुरस्थित प्रसिद्ध भुवरभवानी मन्दिर, बाबा बर्फानी तथा बिनौनास्थित धुमैया उद्यान र नवनिर्मित राप्ती पुलमा घुम्न जानेको सङ्ख्या बढ्दै गएको उहाँको भनाइ छ । हुलाकी सडकसहितका पूर्वाधार विकासले सोनारी क्षेत्रका बासिन्दाको आर्थिक तथा सामाजिक जीवनस्तरमा सकारात्मक प्रभाव पारेको राप्ती सोनारी–५ बिनौनास्थित भुवरभवानी माध्यमिक विद्यालयका प्राचार्य चेतबहादुर बिष्टले बताउनुभयो । नेपालगञ्ज–बघौडा हुलाकी सडकसँगै राप्ती सोनारी गाउँपालिका–६ को कुण्डादेखि नारायणपुर हुँदै अगैयामा पूर्व–पश्चिम राजमार्ग जोड्ने सडक विस्तार भएपछि साना तथा ठूला सवारी साधनको आवागमन बढेको उहाँले बताउनुभयो । नेपालगञ्जबाट कोहलपुर हुँदै अगैया पुग्ने मुख्य राजमार्गको तुलनामा यो सडक छोटो पर्ने भएकाले सवारी साधनले उक्त मार्ग प्रयोग गर्न थालेका हुन् । हुलाकी सडकसहितका पूर्वाधार निर्माणले राप्ती सोनारी क्षेत्रमा व्यावसायिक गतिविधि बढाएको स्थानीय अगुवा जमानसिंह वलीले बताउनुभयो । सडकले बाँकेका बासिन्दालाई विकासको अनुभूति गराएको उहाँको भनाइ छ । —

प्रकाशित : ३ मंसिर २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६