मुख्यमन्त्री आचार्यद्वारा उद्घाटन गर्ने
बाणगंगा, मंसिर ९
कपिलवस्तुको बाणगंगा नगरपालिका–२, नन्दनगरस्थित श्री कैलाश आश्रम तथा मनकामना दुर्गा मन्दिर परिसरमा आयोजना हुन लागेको ३२औँ ज्ञानमहायज्ञको सम्पूर्ण तयारी पूरा भएको संयोजक विष्णु प्रसाद पौडेलले जानकारी दिनु भयो । गुरुकुलको सर्वाङ्गीण विकास तथा धार्मिक, आध्यात्मिक र सांस्कृतिक चेतनाको अभिवृद्धि गर्ने उद्देश्यले मंसिर १० गतेदेखि श्री कुर्म पुराण पाठपारायण तथा श्रीमद्भागवत धनधान्याञ्चल महायज्ञ सञ्चालन हुन लागेको हो।

महायज्ञको शुभारम्भका अवसरमा मंसिर १० गते बिहान ११ बजेदेखि भव्य शोभा कलश यात्रा निकालिने कार्यक्रम रहेको छ। बैरिया सिमलपानी चोक र पिपरा अस्पताल चोकबाट एकैसाथ सुरु हुने कलश यात्रामा श्रद्धालु भक्तजन, धार्मिक व्यक्तित्व तथा स्थानीय समुदायको सहभागिता रहने आयोजकले जनाएको छ।
महायज्ञको औपचारिक उद्घाटन विहिबार दिनको दिउँसो १ बजे लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ। उद्घाटन समारोहमा यस क्षेत्रका विशिष्ट व्यक्तित्व, साधुसन्त, महन्त तथा धर्मानुरागीहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।

मूल व्यवस्थापन समितिका संयोजक एवं बाणगंगा नगरपालिका वडा नं. २ का वडाध्यक्ष विष्णुप्रसाद पौडेलले महायज्ञको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै धार्मिक अनुष्ठानलाई सफल बनाउन सम्पूर्ण श्रद्धालु भक्तजन तथा स्थानीयवासीलाई सहभागिताका लागि आग्रह गर्नुभएको छ।
उहाँका अनुसार महायज्ञ धार्मिक अनुष्ठानमा सीमित नभई गुरुकुलको शैक्षिक तथा संस्थागत विकाससँग जोडिएको पवित्र अभियान हो। गुरुकुलको सर्वाङ्गीण विकासका लागि आयोजना गरिएको यस धार्मिक महोत्सवमा सबैको सहभागिता, सहयोग र सद्भाव महत्वपूर्ण रहने उहाँले बताउनुभयो। संयोजक पौडेलले धार्मिक आस्था, सामाजिक एकता र सांस्कृतिक संरक्षणलाई जोड्न, नयाँ पुस्तामा आध्यात्मिक चेतना, नैतिक मूल्य र संस्कार हस्तान्तरण गर्न महायज्ञले महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको बताउनु भयो ।









प्रतिक्रिया