प्रदेश

सीमानामा अलपत्र परेका नेपालीलाई क्वारेन्टाइनमा राख्ने व्यवस्थासंगै प्रबेश अनुमति



धनगढी ११ चैत्र ।  नेपाल–भारतको सीमानाका गौरीफण्टामा सोमबारदेखि अलपत्र परेका नेपालीलाई सम्बन्धित जिल्लामा पुयाई क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न लागिएको छ । भारतका विभिन्न शहरबाट स्वदेश फर्किएका एक हजार ९०० नेपाली सोमबार साँझदेखि कैलाली नजिकको गौरीफण्टा सीमानाकामा गन्तव्यमा पुग्न नपाई अलपत्र रहेका हुन् । कोरोना भाइरसको रोकथामको प्रयासस्वरुप नेपाल सरकारले लकडाउन गरेसँगै आवागमनमा रोक लगाइएपछि उनीहरु सीमामै अलपत्र परेका हुन् ।सुदूरपश्चिम प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठक पछि रासससँग कुरा गर्दै  सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले सङ्घीय सरकारको निर्णयअनुसार सीमामा रोकिइराखेका सबै नेपालीलाई सम्बन्धित जिल्लामा पठाइ क्वारेन्टानमा बस्ने व्यवस्था मिलाउन पहल गर्ने निर्णय भएको जानकारी दिनुभयो । उक्त नाकामा विभिन्न १९ जिल्लाका नेपाली नागरिक अलपत्र अवस्थामा रहेका छन् । मन्त्रिपरिषद्को बैठकले कोरोनाको रोकथाम तथा निगरानीको पूर्वतयारीस्वरुप प्रदेशका विभिन्न अस्पताल र जनस्वास्थ्य संस्थामा आइसोलेसन कक्ष स्थापनाको कार्य लागि रु ११ करोड ५० लाख रकम उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।प्रदेशको महाकाली प्रादेशिक अस्पताल र सेती प्रादेशिक अस्पतालमा ५०÷५० श्ययाको र अन्य जिल्लाका अस्पताल तथा अन्य स्वास्थ्य संस्थामा न्यूनतम २० श्ययाको आइसोलेसन कक्ष तयार पार्नका लागिएको जनाइएको छ । यसैगरी कोरोनाको रोकथामको प्रयासका लागि गर्नुपर्ने कार्यका लागि सशर्त अनुदानको रुपमा प्रदेशका गाउँपालिकालाई रु तीन लाख, नगरपालिकालाई रु चार लाख र उपमहानगरपालिकालाई रु पाँच लाख उपलब्ध गराउने निर्णय पनि गरिएको छ ।  

एक महिनाको पारिश्रमिक उपलब्धः

  कोरोना भाइरसको रोकथाम गर्न गरिने कामका लागि सुदूरपश्चिम प्रदेशका प्रमुख शर्मिलाकुमारी पन्तले आफ्नो एक महिनाको पारिश्रमिक उपलब्ध गराउनु हुने भएको प्रदेश प्रमुखको कार्यालयका अधिकृत पुस्कर खड्काले राससलाई जानकारी दिनुभयो ।यस्तै सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले मुख्यमन्त्री त्रिलोचन भट्टसहित अन्य मन्त्रीले प्रदेशस्तरीय विपद् व्यवस्थापन समितिको कोषमा आफ्नो एक महिनाको पारिश्रमिक जम्मा गर्ने निर्णय गरेको सामाजिक विकासमन्त्री सुवेदीले जानकारी दिनुभयो ।  

आइसोलेशन कक्ष

  सुदूरपश्चिम प्रदेश सरकारको पहलमा कोरोना भाइरस सङ्क्रमण रोकथामको पूर्वतयारीस्वरुप धनगढीको खेलकूद रङ्गशालामा पनि आइसोलेसन कक्ष निर्माण थालिएको छ । विश्वमा फैलिइरहेको कोरोना भाइरस भित्रिएपछिको अवस्थामा पीडितलाई स्वास्थ्य सेवाको व्यवस्था मिलाउन नेपाली सेनासँगको समन्वयमा आइसोलेसन कक्ष निर्माण थालिएको हो । प्रदेशका सामाजिक विकासमन्त्री सुवेदीले धनगढी रङ्गशालामा २०० श्ययाको आइसोलेसन कक्ष निर्माण थालिएको बताउनुभयो ।   यसबाहेक धनगढीको वडा प्रहरी कार्यालय नजिक खाली रहेको जग्गाका साथै सेती प्रादेशिक अस्पताल, गेटा आँखा अस्पताल, अत्तरियास्थित नेपाली सेनाको विद्यालय, कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगरको तालीम केन्द्र र पहाडी जिल्लाका अस्पतालमा गरी अहिलेसम्म ७५० श्ययाको आइसोलेसन कक्ष स्थापना गरिसकिएको छ ।  प्रदेशका सबै नौ जिल्लामा गरी ३९ ठाउँमा स्वास्थ्य सहायता कक्ष हेल्थ डेस्क सञ्चालनमा आइसकेको छ ।  मन्त्री सुवेदीले भन्नुभयो, “सङ्क्रमित फेला परेको अवस्थामा निजको स्वास्थ्य व्यवस्था मिलाउन खटिने स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने गाउन र अन्य सामग्रीको आवश्यकताअनुसार व्यवस्थापन भइरहेको छ ।” 

प्रकाशित : ११ चैत्र २०७६, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६