रुपन्देही १९ चैत्र । प्रदेश ५ सरकारले प्रदेशको तीन स्थानमा स्थापना गर्न लागेको कोभिड १९ परिक्षण योगशालाका लागि संघीय सरकारले पठाएको पिसिआर मेसीन बुधवार बुटवल आइपुगेको छ ।प्रदेशका तीन स्थानमा प्रयोगशाला स्थापना गर्ने प्रदेश सरकारको निर्णय अनुसार पिसीआर सहित परिक्षणको लागि आवश्यक अन्य उपकरणहरु पनि बुटवल आइपुगेको हो ।
रुपन्देहीको भैरहवास्थित गहुँबाली अनुसन्धान केन्द्रमा प्रदेशस्तरिय प्रयोगशाला स्थापना भएपछि कोभिड १९ को स्वाव परिक्षण रिपोर्ट तत्काल आउने र संक्रमणको आशंकितहरुले धेरै समय कुर्न नपर्ने प्रदेश सरकारले अपेक्षा गरेको छ ।संघीय सरकारले पठाएको पोलिमेरेज चेन रिएक्सन (पिसीआर) संचालनका लागि तिब्र गतिमा काम भईरहेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुख राजेन्द्र गिरीले जानकारी दिनुभयो ।
गिरीका अनुसार पिसिआरले प्रत्येक दिन १६ वटा स्वाव नमुना संकलनको जांच गर्नेछ । प्रयोगशाला नभएकै कारण केन्द्रिय प्रयोगशालामा नमूना पठाउन ढिलो हुंदा बुटवलमा एकजनाको ज्यान समेत गएको छ ।प्रदेश प्रयोगशाला प्रमुख गिरीले प्रयोगशाला स्थापनाको काम तिब्र गतिमा भईरहेकाले केही दिनमा प्रयोगशाला संचालनमा आउने जानकारी दिनुभयो ।
मेसिन सहित प्राबिधिकहरुका लागि पर्सनल प्रोटेक्ट इकुमेण्ट, नमुना संकलनका लागि आवश्यक किट तथा नमुना ट्रान्सपोटेसनका लागि फ्रिज बक्सहरु समेत संघीय सरकारले बुटवल पठाएको छ ।प्रदेश सरकारले रुपन्देही सहित दाङको बेलझुण्डी र नेपालगन्जको भेरी अस्पतालमा कोभिड १९ को परिक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया