बुटवल, ८ वैशाख । कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचारका लागि अस्पताल आएका विरामी एवं आफन्तहरुलाई भाइरसबाट सुरक्षित राख्न प्रोगेसिभ इन्जिनियरिङ्ग एशोसिएसन नेपाल प्रदेश नम्बर ५ ले लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई अटोमेटिक सेनेटाइजिङ्ग टनेल सहयोग गरेको छ ।
८० हजार मूल्य बराबरको अटोमेटिक सेनेटाइजिङ्ग टनेल एशोसिएसनका प्रदेश ५ का अध्यक्ष जीवन अर्याल र प्रदेश ५ इन्चार्ज तथा केन्द्रिय सदस्य इन्जिनियर दुजेन्द्र बस्नेतले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका प्रमुख डा. राजेन्द्रप्रसाद खनाललाई हस्तान्तरण गर्नुभएको हो । उक्त अटोमेटिक सेनेटाइजिङ्ग टनेल ग्रहणसंगै डा. राजेन्द्रप्रसाद खनालले यो विपतको बेला महत्वपूर्ण सामान सहयोग गरि मानविय सेवामा प्रशंसनिय कार्य गरेको भन्दै एशोसिएसनको प्रदेश समितिप्रति आभार ब्यक्त गर्नुभयो ।
डा. खनालले आगामी दिनमा मेसिनलाई प्रादेशिक अस्पतालले संरक्षण गर्दै नियमित संचालनमा ल्याउने पनि बताउनु भयो । अटोमेटिक सेनेटाइजिङ्ग टनेलको बारेमा जानकारी दिदै कार्यक्रम संयोजक इन्जिनियर दिपक पाण्डेले ५ देखि ७ सेकेन्डमै अटोमेटिक सेन्सरले काम गर्ने बताउनु भयो ।
अटोमेटिक सेनेटाइजिङ्ग टनेलमा प्रयोग गरिएको सेनेटाइजर भने प्रादेशिक अस्पतालको प्राविधिक सहयोगमा उत्पादन गरिएको पाण्डेले बताउनु भयो । अटोमेटिक सेनेटाइजिङ्ग टनेल लुम्बिनी प्रादेशिक अस्पतालको प्रवेशद्वारमा राखिएको छ । प्रदेश ५ सामाजिक विकास मन्त्री सुदर्शन बराल, लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्यप्रसाद भट्टराइको उपस्थितिमा भएको हस्तान्तरण कार्यक्रमको संचालन प्रोगेसीभ इन्जिनियरिङ्ग एशोसिएसन नेपाल प्रदेश नम्बर ५ का सचिव ई. अरुण खनालले गर्नुभएको थियो ।
प्रतिक्रिया