मधेश

महोत्तरीका दुई बस्तीमा शोक ,दिनहुँ अज्ञात ब्यथाबाट मृतक बढ्दै



महोत्तरी २० बैशाख । विश्व नै कोरोरा भाईरस सगं जुधिरहेका बेला महोत्तरीको दुई बस्तीमा भने अज्ञात व्यथाका कारण आफन्त गुमाउनुको शोक त्रास छाएको छ । जिल्लाको भङ्गाहा नगरपालिका–७ मेघनाथ गोरहन्ना र बर्दिवास नगरपालिका–१२ को मेघरोलमा त्रास र शोक छाएको हो ।  एउटै बस्ती देखिने दुवै नगरपालिकाका यी बस्तीमा दिनहुँ मृतक थपिदै गएपछि त्रास र शोकले घर जमाएको छ । गत मङ्गलबारयता शुक्रबारसम्म  अज्ञात रोगबाट आठ जनाको मृत्यु भएको छ । मङ्गलबारअघि पनि पाँच दिन पहिले एक जनाको मृत्यु भएको थियो ।

                   वैशाख ११ गते भङ्गाहा–७ मेघनाथगोरहन्नाका ४२ वर्षीय महेन्द्र चौधरीको मृत्यु भयो । बाक्लै रक्सी सेवन गर्ने उनको मृत्युलाई स्वभाविक मानेका स्थानीयवासीले गत मङ्गलबारयता बस्तीका एकपछि अर्को मर्दै गएपछि शोकसँगै त्रासमा परेका हुन् । पछिल्लोपटक शुक्रबार बर्दिवास–१२ का ५५ वर्षीया मोमनीदेवी सरदार र २६ वर्षीय सुपीन्द्र मण्डलको मृत्यु भएको हो । सो बस्तीकै ५२ वर्षीय गङ्गाराम सदाको गत बुधबार मृत्यु भएको थियो । त्यसैगरी सो बस्तीसँगै जोडिएको भङ्गाहा–७ मेघनाथगोरहन्नामा मङ्गलबारयता पाँच जनाको मृत्यु भइसकेको छ । भङ्गाहा–७ मा मङ्गलबार ५२ वर्षीय नथुनी चमार र ४० वर्षीय मोहन चौधरीको मृत्यु भयो । लगत्तै बुधबार भङ्गाहा–७ कै ५४ वर्षीय लालबाबु सिंह र बिहीबार ५५ वर्षीय सुकदेव ९सिताइ० महरा र ४२ वर्षीय सिकेन्द्र सिंहको मृत्यु भएपछि दुवै बस्तीमा वैशाख ११ यता हालसम्म मृतकको  सङ्ख्या नौ पुगेको हो । बर्दिवास–१२ र भङ्गाहा–७ झट्ट हेर्दा एउटै बस्ती देखिने जोडिएका बस्ती हुन् ।

मृतक सबै रक्सीका अम्मली भएका हुँदा विषाक्त मदिराको सेवनले मृत्यु भएको त्यहाँका स्थानीयवासीको अनुमान छ । ग्रामीण बस्तीमै अवैधरूपमा सञ्चालित भट्टीबाट उत्पादित मदिरा खाने बानी भएको हुँदा त्यसकै कारणले विभिन्न स्वास्थ्य समस्या बढेर नौ जनाकै मृत्यु भएको  बर्दिवास–१२ र भङ्गाहा–७ का वडाध्यक्ष क्रमशः रामकिशोर साह र वासुदेवसिंह थारूको ठम्याइ छ ।“मृतक सबै रक्सीका अम्मली हुन्”, बर्दिवास–१२ का वडाध्यक्ष साहले भन्नुभयो, “यिनीहरुको मृत्यु विषाक्त रक्सी सेवनले नै भएको हुनपर्छ, यद्यपि शव परीक्षण रिपोर्ट आएपछि यसको यकिन हुनेछ ।” भङ्गाहा–७ का वडाध्यक्ष थारूले पनि सबैको मृत्यु अनियन्त्रित रक्सी सेवनबाटै भएको बताउनुभयो ।

                 “मृत्युको निहुँ प्रमाणित भए पनि मृतकमा त्यो कारण भने रक्सीको अत्यधिक सेवनले नै भएको हुनुपर्छ”, थारूले भन्नुभयो ।मृतकमध्ये सिकेन्द्र सिंह र सुकदेब  महराको शव परीक्षण गरिएको छ । परीक्षण रिपोर्ट आएपछि मृत्युको कारणबारे यकिन हुने जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख तथा प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो । पछिल्लो समयमा जताततै कोभिड–१९ को सन्त्रास छाएका बेला बस्तीमा भटाभट मर्नेको सङ्ख्या बढ्दै गएपछि यसबारे यकिन हुनुपर्ने स्थानीयवासी बताउँछन् । “मृतक सबै पहिलेदेखि नै मदिराका अम्मली त हुन्, तर अहिले संसारभरि नै कोरोना सन्त्रास छाएको हुँदा यहाँका सर्वसाधारणमा शोकसँगै त्रास छाएको छ”, भङ्गाहा–७ का राजनीतिक, सामाजिक अगुवा चन्द्रनारायण सिंहले भन्नुभयो, “राज्यले यसबारे आश्वस्त बनाउनुपर्छ ।” 

यसैबीच जिल्ला प्रहरी कार्यालय महोत्तरीले मृतकमध्ये दुईको कोभिड–१९ सङ्क्रमण हो÷होइन यकिन गर्न स्वाब सङ्कलन गरी पिसीआर परीक्षणका लागि प्रयोगशाला पठाइएको जनाएको छ । “मृतकको आरडिटी जाँच परिणाम नेगेटिभ आएको छ”, प्रहरी उपरीक्षक अधिकारीले भन्नुभयो, “अब पिसीआर जाँच र शव परीक्षण रिपोर्ट आएपछि यकिन हुनेछ ।”शुक्रबारै ती बस्तीमा पुग्नुभएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सर्सती बुझ्दा मदिरा सेवन र मलेरिया मृत्युको कारण हुनसक्ने बुझिए पनि यसको यकिन जाँच हुनुपर्ने बताउनुभएको छ । आपूmले यस प्रयोजनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र प्रदेश नं २ सरकारको ध्यानाकर्षण गराएको सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले जानकारी दिनुभयो ।

                मृतक सबै गरिब परिवारका छन् । मृत्युको कारण जे भए पनि परिवारजनको पीडा हेरेर भङ्गाहाका नगरप्रमुख सञ्जीवकुमार साहले आफ्नो नगर क्षेत्रका मृतकको काजकिरीयावापत रु २१÷२१ हजार उपलब्ध गराइने जानकारी दिनुभयो । मेघनाथ गोरहन्नामा एक साता पहिले मात्र सीतापुर, औरही र जमुनियाँ प्रहरी चौकीको संयुक्त गस्तीले १६ हजार लिटरभन्दा बढी मदिरा बनाइने कच्चा पदार्थ र चार भट्टी नष्ट गरेको थियो ।

प्रकाशित : २० बैशाख २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६