लुम्बिनी

रुपन्देहीका कोरोना संक्रमित युवकका परिवार सुरक्षित



बुटवल, २१ बैशाख । शुक्रवार कोरोनाबाट संक्रमित रुपन्देहीको कोटहीमाईका एक युवाका घर परिवार भने सुरक्षित रहेका छन् ।  कोटहीमाई गाउंपालिका–१ सिपवा पुर्निहवा गाउँका कोरोना संक्रमित युवाको परिवारका १० जनाको रियल टाइम पीसीआर रिपोर्ट नेगेटिभ आएसंगै उनीहरु सुरक्षित रहेका छन । भारतको दिल्लीबाट ट्रक र पैदल यात्रा गर्दै बैशाख ५ गते मर्चवारको ठोठरी नाका हुंदै घर आएका २५ वर्षिय युवामा शुक्रबार कोरोना संक्रमण पुष्टी भएपछि परिवारका सदस्यको पनि आरटी पीसीआर परक्षिण गरिएको हो । 

        भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको आरटी पीसीआर जाँचमा संक्रमित युवाका परिवारका दश जनाकै रिपोर्ट नेगेटिभ आएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिनुभयो । कोरोना संक्रमित युवालाई शुक्रबार नै बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना गरेर उपचार भइरहेको छ । 

        उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताउनु भयो । रुपन्देही सहित प्रदेश ५ का तराईका जिल्लाको ४ सय ८ किलोमिटर क्षेत्र भारतीय सिमानासंग जोडिएको छ । जहाँ व्यवस्थित सिमा छैन । यही कमजोरीको फाइदा उठाउँदै लकडाउन सुरु भएपनि भारतीय भूमिबाट लुकीछिपी नागरिक आएका छन् ।  जसका कारण रुपन्देहीको कोटहीमाई गाउपालिकाका एक युवामा कोरोना भाइरसको संक्रमण भेटियो । दिल्लीबाट आएका ती युवामा कोरोना भेटिएपछि रुपन्देही अहिले सन्त्रासमा छ ।

        विश्वलाई नै आक्रान्त पारेको कोभिड १९ (कोरोना) रुपन्देहीमै देखिएपछि यहाँका स्थानिय तहहरुले थप सर्तकता अपनाएका छन् । अहिलेसम्म लकडाउनमा केही नरम भएका स्थानिय तहहरु यसको पालनमा कडाई अपनाउन थालेका हुन । रुपन्देहीमै कोरोना संक्रमित देखिएपछि जिल्लाको सीमा नाकामा पर्ने गाउँपालिकाहरुले आकस्मिक बैठक बसेर बिभिन्न निर्णय गरेका छन् । 

        रोहिणी गाउँपालिकाको शनिबार बसेको आकस्मिक बैठकले सीमानाकाहरुमा थप सतर्कता र कडाई अपनाउने निर्णय गरेको छ । गाउँपालिकाको ५ वटा वडाहरु भारतीय सीमा सित जोडिएर रहेको हुँदा यी वडाहरुमा गाउँपालिकाले स्थानियहरुको थप टोली बनाई उनिहरुलाई परिचालित गर्ने जनाएको छ ।यस्तै गाउँपालिकावासीलाई अत्यावश्यक काम बाहेक घरबाहिर नजान तथा पास बाहेकका सवारी साधन नचलाउन पनि गाउँपालिकाले सूचना जारी गरेको छ । रोहिणी गाउँपालिकाको बाटो प्रयोग गर्ने बिभिन्न मालवाहक सवारी साधनहरु अब देखी रोहिणी गाउँपालिकामा रोक्न नपाउने निर्णय समेत गरिएको छ । गाउँपालिकाले अति विपन्न परिवारहरुको लागी दोश्रो चरणको राहत वितरण गर्ने जानकारी पनि दिएको छ ।

        रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले रुपन्देहीमै कोरोना देखिएकोले यस क्षेत्रमा थप सर्तकता अपनाईएको बताउनु भयो । उहाँले सुरक्षाकर्मी र स्थानिय स्वयंसेवक सहित अहिले आफै खटिएको बताउनु भयो । उहाँले यस अघि पनि कडाई गरिएपनि अबदेखि भने थप कडा रुपमा लकडाउनको पालना गर्ने बताउनु भयो । यसका साथै सीमानाकाबाट अवैध रुपमा आवागमन रोक्न स्थानिय स्वयंसेवकहरुलाई खाजा खर्च दिएर उनिहरुलाई अझै सक्रिय बनाईने उहाँले जानकारी दिनुभयो । 

प्रकाशित : २१ बैशाख २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६