प्रदेश

अझै केही दिन लाग्ने मौषम सफा हुन



काठमाडौं, २३ बैशाख । पछिल्लो केही दिनयता नेपालमा स्थिर रहेको मौसमी प्रणाली अझै केही दिन सक्रिय हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै नेपालको पूर्वी भूभाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव हुनाका साथै बङ्गालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु लगातार नेपाल प्रवेश गरेकाले वर्षा भइरहेको मौसमविद् शान्ति कँडेलले बताउनुभयो । उहाँका अनुसार तत्काल यी मौसमी प्रणाली हट्ने सम्भावना छैन ।

नेपालमा यी प्रणाली सक्रिय भएकाले देशभर बदलीसँगै मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा भइरहेको हो । अङ्ग्रेजी महिना मार्च, अप्रिल र मेसम्म तीन महिना प्रिमनसुन चल्ने भएकाले देशका पहाडी भूभागको मौसम अपराह्न तथा साँझापख लगातर प्रभावित भइरहने हुन्छ । प्रिमसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराह्न तथा साँझापख मेघगर्जनसहित श्रणिक वर्षा हुने गर्छ । अहिले प्रिमनसुनका साथै अन्य प्रणालीको प्रभाव रहेकाले देशका अधिकांश स्थानमा बिहानैदेखि बदलीसहित वर्षा भएको हो । विगत केही दिनदेखि देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै बङ्गालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु लगातार नेपाल प्रवेश गर्ने क्रम जारी रहेकाले मौसममा सुधार हुन अझै एक साता लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार यस वर्ष काठमाडौँ उपत्यकामा अप्रिलमा औसतभन्दा बढी वर्षा भएको छ । अप्रिलमा सरदर ६१ मिलिमिटर वर्षा हुनुपर्नेमा ९२ मिलिमिटर वर्षा भएको छ । आकाशको बादल र वर्षालाई हेर्दा मनसुन सक्रिय भएको जस्तो लागे पनि यसको वर्षाको प्रकृति भिन्न छ । सामान्यतया नेपालमा जुन १० देखि मनसुन शुरु हुने गर्छ । यस वर्ष मनसुनको समयमा पनि सरदर वर्षा हुने मौसमविद्को अनुमान छ । 

राति देशभर सामान्य बदली रही मध्य तथा पूर्वी भूभागका केही स्थानमा र पश्चिमी भूभागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । भोलि देशभर बिहानीपख आंशिक बदली र दिउँसोपश्चात् सामान्य बदली रही देशको पहाडी भूभागका केही स्थानका साथै पूर्वी र मध्य तराईका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको बताइएको छ । बिहीबार देशभर आंशिक बदली रही देशको पहाडी भूभागका केही स्थान र तराईका एक दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ । 

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३ दशमलव ४ डिग्री र अधिकतम तापक्रम २३ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ८ दशमलव ३ डिग्री र सबैभन्दा बढी वीरेन्द्रनगरको अधिकतम तापक्रम ३३ दशमलव ३ डिग्री सेल्सियस रहेको छ । (रासस)

प्रकाशित : २३ बैशाख २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६