अर्थ-वाणिज्य

लकडाउनको मारमा उखु किसान आन्दोलनको तयारी



सर्लाही, २८ बैशाख । लकडाउनको मारमा सर्लाहीका उखु किसान थप पीडित बनेका छन् ।  धनकौल गाउँपालिका–६ मा रहेको अन्नपूर्ण चिनी उद्योगले किसानको उखुको रकम भुक्तानी गर्न पटकपटक सम्झौता गरे पनि हालसम्म एक पैसा भुक्तानी नगरेको भन्दै किसानले गुनासो गरेका छन् । उद्योगले विसं २०७० देखि हालसम्म १२ हजार किसानको करिब रु ४० करोड भुक्तानी गर्न बाँकी राखेको भन्दै किसानले उद्योगलाई चिनी बिक्री वितरणमा रोकसमेत लगाएको उखु उत्पादक किसान मुकेश ठाकुरले बताउनुभयो । उहाँका अनुसार केही दिन पहिला उद्योगले किसानलाई थाहै नदिई गोप्यरूपमा गोदामबाट चिनी बाहिर लैजान खोज्दा स्थानीय किसानले चिनी लोड भएका चार ट्रक नियन्त्रणमा लिएका थिए । त्यसपश्चात उद्योगले एक–दुई किसानलाई केही रकम मात्र दिए पनि पूरै रकम नदिएको साथै सबैको रकम नदिएको भन्दै किसानले उद्योग विरुद्ध आन्दोलन गर्नेसमेत चेतावनी दिएका छन् ।

            लकडाउनको समयमा किसानको आवतजावत कम भएको मौका छोपी उद्योग प्रशासनले गोप्यरूपमा चिनी लैजान खोज्दा सबै गाउँले किसान मिलेर ट्रकलाई नियन्त्रणमा लिएको स्थानीयवासीले बताएका छन् । गोडैता नगरपालिकास्थित महालक्ष्मी चिनी उद्योगले पनि गत वर्षको केही रकम भुक्तानी गर्न बाँकी रहेको स्थानीय किसान ठाकुरले बताउनुभयो । गत फागुन १८ गतेसम्म सञ्चालनमा गरेको महालक्ष्मी चिनी उद्योगले माघ ७ गतेसम्मको रकम मात्र भुक्तानी गरेको ठाकुरले बताउनुभयो ।

            सरकारले धोका दिएर किसानले पाउनुपर्ने उखुको अनुदानसमेत अहिलेसम्म नपठाएको किसानले बताएका छन् । जारी लकडाउनका कारण बाहिर काम गर्न जान नपाएको र आफ्नो खेतबारीमा उत्पादन भएको कृषिजन्य पदार्थको भुक्तानी पनि नपाउँदा किसान मारमा परेका हुन् । उद्योगले भुक्तानी समयमा नदिएपछि आफ्नो खेत बेचेर साहुको ऋण चुक्ता गर्न बाध्य भएको अर्का किसान रामशरण यादवले राससलाई बताउनुभयो । भुक्तानीका लागि जिल्लामा पटकपटक आन्दोलन गरेका उखु किसानहरू न्याय नपाएपछि पुसको कठ्याङ्ग्रिँदो जाडोमा नाङ्गा खुट्टा आन्दोलन गर्न काठमाडौँ पुगेका थिए । समयमै उखुको भुक्तानी माग राख्दै जिल्लाका उखु किसान माइतीघर मण्डलामा प्रदर्शन तथा धर्नामा समेत बसेका थिए । सरकारले उखु किसान तथा उद्योगीबीच सहमति गराउँदै किसानलाई आन्दोलन स्थगन गरी पठाएको भए पनि अन्नपूर्ण चिनी उद्योगले सम्झौताविपरीत किसानको भुक्तानी समयमा नगर्दा उनीहरु थप मर्कामा परेका हुन् ।

             किसानले उद्योगको गोदाममा रहेको चिनी बिक्री वितरण गर्न नदिएका कारण किसानको रकम भुक्तानीमा ढिला भएको अन्नपूर्ण चिनी उद्योगका सञ्चालक राकेश अग्रवालले बताउनुभयो । “आफ्नो गोदाममा चिनी छ, किसानले बेच्न दिदैनन् । अनि कसरी उनीहरुको भुक्तानी गर्न सकिन्छ”, अग्रवालले बताउनुभयो । किसानले थोरै भए पनि सबै किसानलाई तत्कालै भुक्तानी दिन माग गरेका छन् । यदि उद्योगले यथाशीघ्र थोरै भए पनि उखुको भुक्तानी नदिए आन्दोलन गर्ने तयारीमा रहेको उखु किसानले बताएका छन् । (रासस)

प्रकाशित : २८ बैशाख २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६