प्रदेश

पशु आहार सहजै प्राप्त नहुँदा दुग्ध उत्पादनमा कमी



नवलपरासी २८ बैशाख । बन्दाबन्दीका कारण नवलपरासीमा पशु आहार सहजै रुपमा प्राप्त नहुँदा दुग्ध उत्पादनमा कमी आएको छ ।  दुग्ध विकास संस्थान सुनवल चिस्यान केन्द्र पश्चिम नवलपरासीका अनुसार बन्दाबन्दी पहिले दैनिक करीब २० देखि २२ हजार लिटर संकलन हुने गरेकामा अहिले घटेर १४ देखि १५ हजार लिटरमा प्रतिदिन झरेको छ  । बन्दाबन्दीका कारण पशु आहार पर्याप्त रुपमा नपाएपछि उत्पादनमा कमी आएको केन्द्रका कार्यालय प्रमुख विकास कार्की बताउनुहुन्छ । दुग्ध विकास संस्थान हेटौँडामा रहेको पशु आहार उत्पादन उद्योगमा समेत उत्पादन कमी आएको छ । संस्थानले सहकारी संस्थामार्फत सर्वसाधारणलाई पशु आहार बिक्रीवितरण गर्छ  । गाईभैँसीलाई आवश्यक पर्ने पशु आहार ब्रान, चापट र  पिना पाउन निकै समस्या छ ।  उत्पादन घटे पनि स्थानीय बजारमा बिक्री गर्न धैरे समस्या रहेको बर्दघाट –२ चिसापानी नमूना कृषि फर्म सञ्चालक शेरबहादुर आचार्य बताउनुहुन्छ । 

            पश्चिम नवलपरासीमा  संस्थानको सुनवल र सरावल गाउँंपालिका– १, बासाबसहीमा चिस्यान केन्द्र छन् । दुवै केन्द्रमा २१ सहकारी संस्थामार्फत दूध संकलन हुन्छ । जिल्लामा संकलित दूध पोखरा र विराटनगर पठाउने गरिन्छ । पोखराको सुजल डेरी उद्योग र विराटनगरको दुध वितरण आयोजनामा  धुलो दूध बनाउने गरिएको छ । जिल्लास्थित  सहकारी संस्थाले दूध बिक्री गरेको एक महिनाको रकम पाउन सकेका छैनन् । बन्दाबन्दीका कारण एक महिनाअघिदेखिको रकम सहकारी संस्थालाई भुक्तानी गर्न नसकिएको प्रमुख कार्कीको भनाइ छ । यता स्थानीय बजारमा करीब ८० प्रतिशत र जिल्लाभन्दा बाहिरको निकासीमा ७० प्रतिशत कमी आएका कारण केही सरकारी संस्थाले दुधजन्य वस्तु घिउ र  छुर्पी उत्पादन गर्न थालेको सुनवल– ४ स्थित ज्ञानोदर डोरी उद्योगका सञ्चालक दयाराम भण्डारी बताउनुहुन्छ ।

          जिल्लामा दैनिक रु १० देखि १२ लाख बराबरको दूध तथा दुग्धजन्य सामग्रीको कारोवार हुन्छ । दूधको खुद्रा बजार मूल्य प्रतिलिटर रु ७५ देखि ८० भए पनि  संस्थानले दूधको चिल्लोपना र बाक्लोपनाका आधारमा न्यूनतम रु ४० देखि रु ६० सम्म सहकारी संस्थामार्फत किसानलाई रकम भुक्तानी गर्दै आइरहेको छ ।   संस्थानका दुई चिस्यान केन्द्रमा करीब दुई हजार किसानले दूध संकलन गर्छन् । जिल्लामा करीब ५०  सानाठूला व्यवसायिक पशुपालन फर्म र एक दर्जन व्यावसायिक ठूला दुग्ध उद्योग सञ्चालनमा छन् । 

प्रकाशित : २८ बैशाख २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६