काठमाडौं, ३१ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग जतिसक्दो चाडो वार्ता गरेर भारतले मिचेको नेपालको भूमिसहितको नक्सा सार्वजनिक गर्ने बताउनु भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलिय बैठकमा प्रधानमन्त्री ओलीले पूर्खाको इतिहास मेटिन नदिने जसरी पनि ल्याई छाड्ने बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो हामीले अहिले लडनु जरुरी छैन । भारतसँग असल मित्रता चाहन्छौं । कुटनीतिक वार्ता गर्ने पक्षमा छौं ।’
सरकारले सीमा र सडकबारे पटकपटक वार्ता गर्न खोजे पनि भारतले भने कोरोनको कारण देखाउँदै वार्ता टरेको प्रधानमन्त्री ओलीले बैठकमा जानकारी गराउनु भएको थियो । बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतले मिचेको नेपाली भूमि जसरी पनि फिर्ता हुनु पर्ने बताउनभयो । देउवाले सन् १८१६ को सुगौली सन्धीले नेपालको पश्चिमी सिमाना महाकाली नदी कायम गरेको ऐतिहासिक तथ्यनै विद्यमान प्रकरण समाधानको मुल आधार हो भन्दै महाकाली नदी पूर्वको लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतका भू–भाग नेपालका रहेको बताउनुभयो ।
बैठकमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीहरु डा बाबुराम भट्टराई झलनाथ खनाल, माधव नेपाल, राप्रपाका अध्यक्ष प्रकाशचन्द्र लोहनीलगायत प्रमुख दलका नेताहरुको सहभागिता थियो । भारतले जारी गरेको नक्साबाट विवाद शुरु भएको नेपाल सरकारले पटकपटक वार्ताको लागि प्रयास गरे पनि यस पटक भारतले कोरोनालाई कारण बनाएको छ ।
प्रतिक्रिया