लुम्बिनी

प्रदेश नं ५ मा ९५ कोरोना सङ्क्रमित, व्यवस्थापनमा चुनौति



बुटवल, १ जेठ। प्रदेश नं ५ मा कोरोना ९कोभिड–१९० संक्रमित बढ्दै गएको छ ।  जिल्लाका ९५  नागरिकमा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।  आजसम्म रुपन्देहीमा २८, कपिलवस्तुमा ४०, बाँकेमा २५ तथा नवलपरासी र बर्दियामा एकएकजनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले जानकारी दिनुभयो । संक्रमितको कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ । 

            प्रवक्ता चौधरीका अनुसार बाँकेको सुशील कोइराला प्रखर परोपकार क्यान्सर अस्पतालमा २६ जनाको उपचार भइरहेको छ । यस्तै  बुटवलको धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा ३६ र भैरहवाको भीम अस्पतालमा १९ संक्रमितको उपचार भइरहेको छ । रुपन्देहीका एक जना कोरोना संक्रमित भने उपचारपछि निको भई घर फर्किएका छन् ।  

            अधिकांश संक्रमित रोजगारीका लागि भारत गएका र लुकिछिपी आएकाहरु छन् । बन्दाबन्दीमा पनि रोजगारीका लागि गएकाहरु लुकिछिपी स्वदेश फर्कन थालेपछि प्रदेशका सीमावर्ती क्षेत्र उच्च जोखिममा देखिएका छन् । रुपन्देही, कपिलवस्तु र बाँकेका सीमाबाट अहिले पनि नागरिक भित्रिरहेका छन् । यसबाट यहाँका नागरिकमा त्रास बढेको छ ।

आइसोलेशन बेड अभाव 

            कोरोना भाइरसको संक्रमण बढ्दै जान थालेपछि यहाँ आइसोलेशन बेड अभाव हुने देखिएको छ । प्रदेशका चार अस्पतालमा आइसोलेशन बेड तयार गरिए पनि संक्रमित बढ्दै गएकाले व्यवस्थापनमा समस्या हुने दखिएको स्वास्थ्य निर्देशनालयका प्रवक्ता चौधरीले जानकारी दिनुभयो । “संक्रमितको संख्या बढ्यो भने अब राख्न गाह्रो छ । भएका बेड सबै संक्रमित राख्न सकिने खालका छैनन्, थप बेडका लागि प्रक्रिया शुरु भए पनि तयार हुन समय लाग्छ”, उहाँले भन्नुभयो । तत्कालका लागि सम्बन्धित जिल्लामै संक्रमितको उपचारको व्यवस्था मिलाइने प्रवक्ता चौधरीले बताउनुभयो ।

            प्रदेश सरकारले बुटवलमा आइसोलेशन बेड थप गर्ने प्रक्रिया शुरु गरे पनि समय लाग्ने देखिएको छ । कोरोनाले प्रदेशमा महामारीको रुप लियो भने प्रदेशले थेग्न सक्ने अवस्था नरहेको स्वास्थ्य क्षेत्रमा काम गर्ने संस्था नमूना एकीकृत विकास परिषद् रुपन्देहीका अध्यक्ष ज्ञानु पौडेल बताउनुहुन्छ । प्रदेशमा बुटवल धागो कारखाना, भीम अस्पताल भैरहवा, केन्द्रीय आयुर्वेदिक अस्पताल बेलझुण्डी दाङ र सुशी कोइराला प अस्पताल नेपालगञ्जमा कोरोना संक्रमितका लागि २३० आइसोलेशन बेड तयार गरिएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाले जनाएको छ ।

 महाशाखा प्रमुख डा।उमाशङ्करप्रसाद चौधरीले कोभिड–१९  संक्रमितको उपचारका लागि शय्या अपुग हुनेमा मन्त्रालय  जानकार रहेको बताउँदै बुटवलको धागो कारखानामा २०० शय्या थप्ने तयारी भएको जानकारी दिनुभयो ।

उपचारमा समस्या 

            बाँकेको खजुरास्थित कोरोना विशेष आइसोलेशन अस्पताल कोभिड–१९ सङ्क्रमितले भरिएपछि बिरामी राख्न समस्या देखिएको छ । कोरोना सङ्क्रमितको उपचारका लागि स्थापित आइसोलेशन अस्पताल स्वास्थ्य अवस्था सामान्य  सङ्क्रमितले भरिएपछि जटिल अवस्थाका बिरामी फेला परे उनीहरुको व्यवस्थापन र उपचारमा समस्या देखिएको भेरी अस्पतालका प्रमुख डा प्रकाश थापाले बताउनुभयो । 

        उहाँले स्वास्थ्यवस्था सामान्य सङ्क्रमितलाई स्वास्थ्यकर्मीको निगरानीमा अन्यत्रै व्यवस्थापन गरेर राख्दा पनि समस्या नहुने बताउनुभयो । हाल नेपालगञ्जका २५ र बर्दियाका एक  गरी २६ सङ्क्रमित आइसोलेशन अस्पतालमा भर्ना भएका छन् ।  कोरोना सङ्क्रमितलाई उपचारकोलागि सुशील कोइराला अस्पताललाई कोरोना विशेष अस्पताल घोषणा गरेर ६ शय्या आइयियु र  ३ शय्या भेन्टिलेटरसहित ४० शय्या बनाइएको थियो । 

        सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई समेत त्यहीँ बस्ने व्यवस्था गरिएकाले अब थप सङ्क्रमितलाई अस्पतालमा राख्न कठिन हुने खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिनुभयो । प्रदेश सरकार, भेरी अस्पताल नेपालगञ्ज र खजुरा गाउँपालिकाको सहकार्यमा खजुरास्थित क्यान्सर अस्पताललाई कोरोना विशेष आइसोलेशन अस्पताल बनाइएको थियो । भेरी अस्पतालका प्रमुख डा थापाको नेतृत्वमा स्वास्थ्यकर्मी परिचालन भइरहेका छन् । अहिले उक्त अस्पतालमा १६  स्वास्थ्यकर्मीको टोली सङ्क्रमितको उपचारमा खटिएको डा थापाले जानकारी दिनुभयो । 

         नेपालगञ्ज उपमहानगरपालिकाले लायन्स डेन्टल अस्पतालसँगको सहकार्यमा २५ शय्याको आइसोलेशन अस्पताल तयार गरिए पनि सञ्चालन हुन सकेको छैन । त्यहाँ खजुराको जस्तो सुविधा नभएका कारण सङ्क्रमित राखिएको छैन । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले सङ्क्रमितले आइसोलेशन अस्पताल भरिन लागेपछि थप व्यवस्थापनको आवश्यकता देखिएको बताउनुभयो ।  (रासस) 

प्रकाशित : १ जेष्ठ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६