काठमाडौं, २ जेठ । सङ्घीय संसदमा सरकारको नीति तथा कार्यक्रम आज पेस हुँदैछ। सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम पेस गर्नु हुनेछ । संसद्को संयुक्त बैठक अपराह्न ४ बजे बस्ने छ। नीति तथा कार्यक्रम पेस गर्न संसद् सचिवालयले सम्पूर्ण तयारी पूरा गरिसकेको जनाएकोछ । कोरोना जोखिमबाट परेको बहुपक्षीय असरमा नै कार्यक्रम केन्द्रित हुने जनाइएको छ।
नीति तथा कार्यक्रम अनुसार सरकारले वार्षिक बजेट पेस गर्ने गर्दछ । सरकारले कोरोना जोखिमसँगै स्वास्थ्य, शिक्षा, रोजगारी सिर्जनाका कार्यक्रमलाई मुख्य रूपमा नीति कार्यक्रममा अघि सार्ने तयारी गरेको जनाएकोछ । कोरोना भाइरसका कारण विभिन्न श्रम गन्तव्यमा रहेका नागरिकसमेत फर्कने अवस्थामा रहेकाले सरकारले रोजगारीलाई प्राथमिकतामा राखेको छ।
कोरोना जोखिमका कारण भौतिक दूरी कायम राखेर सञ्चालित भइरहेको बैठकमा अधिकतम सुरक्षा विधि अपनाइएको सचिवालयको जनाएको छ ।
प्रतिक्रिया