लुम्बिनी

कपिलवस्तुको क्वारेन्टाइनमा ७ हजार, जाँच न्यून र व्यवस्थापनमा समस्या



कपिलवस्तु , ४ जेठ । प्रदेश ५ मा सबै भन्दा बढि कोरोना संक्रमित कपिलवस्तुमा देखिएका छन् । देशकै रेडजोनमा रहेको कपिलवस्तुमा बाँके र रुपन्देही पछि मात्र कोरोना देखिएको थियो । ३ साता भित्र प्रदेशकै उच्च जोखिममा परेको कपिलवस्तुमा आइतबार सम्म ४३ जना संक्रमित फेला परेका छन् । देशमै पहिलो पटक स्वास्थ्यकर्मी, सुरक्षा अधिकृतहरु तथा सरकारी कर्मचारीहरु हुदै कपिलवस्तुमा दोश्रो चरणमा कोरोना संक्रमण फैलिसक्यो । जिल्ला प्रशासन कार्यालयका अनुसार लकडाउन घोषणा गरिए यता वैद्यानिक रुपमा ६ हजार ९७४ जना कपिलवस्तु प्रवेश गरेका छन् । करिब १ हजार बढि खुला सीमानाबाट अवैध रुपमा नेपाल प्रवेश गरेका छन् । जसको तथ्यांक प्रशासन संग छैन । 

            कपिलवस्तुमा अहिले नेपालमै सबै भन्दा बढि ७ हजार ८ जनालाई क्वारेन्टाइनमा राखिएको छ । वैधानिक र अवैध रुपमा भारतबाट नेपाल प्रवेश गर्नेहरुलाई १० वटा पालिकाले स्थापना गरेको क्वारेन्टाइनहरुमा खाना खुवाएर राखिएको छ । जसमध्ये १६ सय ४१ जनालाई क्वारेन्टाइनबाट डिस्चार्ज गरिएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । अहिले सम्म क्वारेन्टाइन बसेका ११ सय १० जनाको र्र्यापिट टेस्ट भएको छ भने ९ सय २९ जनाको पिसिआर टेस्ट गरिएको । जस मध्ये ४२ जनाको कपिलवस्तुमा र १ बालिकाको काठमाण्डौमा कोरोना संक्रमण देखिएको हो । अझै क्वारेन्टाइन बसेका ६ हजार बढिको पिसिआर जाँच गरिएको छैन । 

यी हुन् कपिलवस्तुमा कोरोना कहरका कारण ः 

१. आत्मघाति क्वारेन्टाइन ः कपिलवस्तुका १० वटा स्थानीय तहले ७ हजार ४ सय १५ जना अटाउने क्वारेन्टाइन निर्माण गरेको प्रशासनको तथ्यांक छ । राजमार्ग किनारका क्वारेन्टाइन केहि व्यवस्थित छन् भने हुलाकी तथा सीमाना छेउका क्वारेन्टाइनको अवस्था दयनिय छ । नेपालमै सबै भन्दा बढि ७ हजार मानिसलाई क्वारेन्टाइन राखिएको जिल्ला कपिलवस्तुमा क्वारेन्टाइनको अवस्था र मापदण्ड हेर्न सक्ने निकाय समेत छैन । स्थानीय तहले आफ्नो क्षमताले भ्याए अनुसारको व्यवस्थापन गरेपनि प्रदेश र संघबाट कुनै सहयोग पाएका छैनन् । अव्यवस्थित क्वारेन्टाइनमा बसेका ९० प्रतिशतको अझै सम्म कोरोना सम्बन्धि जाँच गरिएको छैन । क्वारेन्टाइनको एउटै कोठामा १५ देखि २५ जना सम्म राखिएको छ । सुत्ने, खाने र स्वास्थ्य उपचारको अवस्था निकै दयनिय छ । कतिपय स्थानमा त पाल टांगेर क्वारेन्टाइन बनाइएको छ भने घर परिवारले खाना लिएर आउने, कपडा लत्ता धोइदिने, विस्तारा ल्याइदिने समेत गर्दछन् । केहि क्वारेन्टाइन वरपरका चिया पसलहरुमा जाने आउने गर्दछन् । कपिलवस्तुमा मापदण्ड बिना बाध्यताले निर्माण गरिएका ति क्वारेन्टाइनहरु कोरोनाको एम्बुस बन्दै गएको स्वास्थ्यकर्मीहरु बताउछन् । “सामाजिक दुरी छैन, सबै संगै हुन्छन, बाहिर जान्छन्, घुम्छन्, शौचालय–स्नान सबैमा जोडिएका छैन अवस्था सोचेका भन्दा गम्भीर छ ” महाराजगंजमा कार्यरत एक स्वास्थ्यकर्मीले भने  । एउटा क्वारेन्टाइनमा एक जनामा मात्र कोरोना संक्रमण भए त्यहा बसेका २० प्रतिशतलाई सहजै सर्न सक्ने स्वास्थयकर्मीहरुकै दाबी छ । केहि जनप्रतिनिधीले सिफारिशमा क्वारेन्टाइन बसेकाहरुलाई घर समेत लाने गरेको हुदा समुदाय पनि जोखिममा रहेको पाइन्छ । क्वारेन्टाइन बसेका ७ हजार जना सबै भारतबाट आएका हुन् । 

२.सीमानाबाट हुने अवैध प्रवेश ः सरकारले चैत ११ गते देखि लकडाउन घोषणा गरेलगत्तै भारतमा रोजगारी गर्नेहरु धमाधम नेपाल प्रवेश गर्न थाले । केहि वैधानिक बाटो हुदै आए भने केहि खुला सीमानाबाटै नेपाल छिर्न थाले । लगत्तै जिल्लाको ९७ किमी लामो सीमानामा शशस्त्र प्रहरीको ६५ वटा पोष्ट र नेपाल प्रहरीको १९ वटा प्रहरी चौकी स्थापना गरियो । हाल १७ सय सुरक्षाकर्मी सीमानामा खटिएका छन् । प्रशासनको तथ्यांक अनुसार लकडाउन यता मात्रै जिल्लामा ८ हजार ६ सय ४९ जना प्रवेश गरेका थिए । जस मध्ये ८ हजार ६ सय २१ जना  भारत र बाँकी अन्य मुलुक बाट आएका थिए ।  तर सुरक्षा श्रोतका अनुसार त्यस बाहेक १ हजार बढि व्यक्तिहरु खुला सीमानाबाट नेपाल प्रवेश गरेका छन् र उनीहरु न त क्वारेन्टाइन बसेका छन न त उनीहरुको जाँचको दायरामा आएका छन् । क्वारेन्टाइन बाहिर रहेका ति १ हजार व्यक्तिहरुबाट समुदायमा संक्रमण फैलन सक्ने उच्च जोखिम देखिएको छ । 

३. भारतीय सवारी चालक ः लकडाउनका क्रममा भारतबाट अत्यावश्यक तथा खाद्यान्नहरु नेपाल आयात भइरहेका छन् । कृष्णनगर भन्सारका अनुसार दैनिक सरदर ५० वटा मालवाहक साधन खाद्यान्न लिएर नेपाल प्रवेश गर्दछन् । कृष्णनगर नगरपालिकाले सवारीहरुलाई स्यानिटाइज गरेर प्रवेश गराएपनि सवारी चालकहरुको स्वास्थ्य अवस्थाबारे भने कसैले जाँच गर्दैन । उनीहरुको पिसिआर वा आरटीडि जाँच समेत हुदैन । उनीहरु नेपालका विभन्न स्थान जान्छन् । बाटोमा खाजा, खाना खान्छन् , बस्छन् , आर्थिक कारोबार गर्छन । सवारी सहित निर्वाध रुपमा नेपाल प्रवेश गर्ने त्यस्ता भारतीय सवारी चालक, सहचालकबाट पनि समुदायमा कोरोना फैलिएको अनुमान गरिएको छ । कृष्णनगरको सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरुलाई सोहि माध्यमबाट कोरोना संक्रमण भएको अनुमान गरिएको छ । सुरक्षाकर्मीमा कोरोना देखिएपछि कृष्णनगर भन्सारमा कार्यरत कर्मचारीहरुले पनि जाँचको माग गरेका छन् । 

 ४. सर्तकर्तामा लापरवाही ः मंगलबार कपिलवस्तुको तौलिहवा अस्पतालमा कार्यरत स्वास्थकर्मीमा कोरोना संक्रमण देखियो । लगत्तै बुधबार कृष्णनगरमा खटिएका प्रहरी नायब निरिक्षक, प्रहरी हवल्दा, शशस्त्र प्रहरी नायब निरिक्षक र अनुसन्धान सहायकमा कोरोना संक्रमण देखियो । सोहि दिन कृष्णनगर नगरपालिकामा कार्यरत प्राविधिक र कार्यालय सहायकलाई संक्रमण पुष्टि भयो । संक्रमितको पहिलो सम्पर्कमा आउने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मीहरु मात्र नभई कर्मचारीहरु समेत यसबाट प्रभावित भइरहेका छन् । तर संक्रमणको अवस्था पश्चात पनि कपिलवस्तुमा स्वास्थ्य सुरक्षामा सर्तकता अपनाइएको छैन । यसमा चरम लापरवाही गरिएको छ । संक्रमित स्वास्थ्यकर्मीलाई तौलिहवा अस्पताल राखिएको छ भने उनका परिवारलाई पनि क्वारेन्टाइनमा राखिएको छैन । प्रहरीको सम्पर्कमा आएका सुरक्षाकर्मीहरु क्वारेन्टाइन बसेका छैनन् । जनशक्ति अभाव भन्दै उनीहरु सुरक्षामै खटिएका छन् । विरामी उपचार, पिसिआर जाँच र सुरक्षामा खटिएका स्वास्थ्यकर्मी र विना उपकरण फिल्ड हिड्ने संचारकर्मीहरुले लापरवाही गर्दा समुदाय तहमा कोरोनाको संक्रमण बढेको छ । 

            कपिलवस्तुमा गत बैशाख २५ गतेबाट कोरोना संक्रमित देखिन थालेका थिए । सुरुमा २ जना बाट देखिएको संक्रमितको संख्या ४३ पुगेको छ । क्वारेन्टाइनमा बसेकाहरु मध्ये अझै ९० प्रतिशतको जाँच बाकी रहेका हुदाँ यसको संख्या धेरै बढ्ने अनुमान गरिएको छ । अवैध प्रवेशमा नियन्त्रण गर्नुपर्ने र त्यसरी प्रवेश गरेकाहरुको तत्काल खोजी गरि जाँच गरिनुपर्ने नागरिक अगुवा दोलक बहादुर पछाइको भनाई छ । यसै गरि क्वारेन्टाइनलाई मापदण्ड अनुसार व्यवस्थापन गर्नुपर्ने र श्रोतका लागि संघीय सरकारले सहयोग गर्नुपर्ने देखिन्छ । लकडाउन पालना, क्वारेन्टाइन बसेकाहरुको तत्काल जाँच, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले उच्च सर्तकता अपनाउनुपर्ने  र भारतबाट आउने मालवाहक साधनका चालकहरुको जाँच गरेर मात्र प्रवेश गराउन सके कोरोना संक्रमणको अवस्था केहि घटाउन सकिने स्थानीय सामाजिक अगुवा महादेव पोख्रेल बताउनुहुन्छ । 

प्रकाशित : ४ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६