काठमाडौं, १९ जेठ । तत्कालिन राजा वीरेन्द्र शाहको वंशनाश हुने गरी भएको दरबार हत्याकाण्ड १९ वर्ष पूरा भएको छ । हत्याकाण्डमा तत्कालिन युवराज दीपेन्द्र शाहलाई मुख्य दोषी देखाइएको थियो तर आम जनसमुदायले अहिलेसम्म त्यसलाई पूर्ण रुपमा विश्वास गर्दैनन् । आजभन्दा ठीक १९ वर्ष अघि २०५८ जेठ १९ गते तत्कालिन राजा वीरेन्द्र शाह र उनको परिवारको दराबर हत्याकाण्डमा हत्या भएको थियो ।
उक्त काण्डमा तत्कालिन राजा वीरेन्द्रसहित रानी ऐश्वर्या, छोराहरु युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, छोरी अधिराजकुमारी श्रुती, भाइ अधिराजकुमार धिरेन्द्र, दिदीहरु शोभा सिंह र शारदा शाहका अलावा ज्वाईं कुमार खड्ग विक्रम शाहसमेत गरि १० जनाको हत्या भएको थियो ।
सरकारद्वारा गठित छानविन समितिहरुले दीपेन्द्रले केही समययता भएको पारिवारिक विवादका कारण बाबुआमा, भाई र बहिनीसमेतलाई गोली चलाएको निष्कर्ष निकालेको थियो । त्यसपछि युवराज स्वयंले आत्महत्या गरेको भनिएको प्रतिवेदनमा उल्लेख छ । २०६५ साल जेठ १५ मा गणतन्त्र घोषणा भई २५० वर्ष लामो शाहवंशीय शासनको अन्त्य भएको थियो ।
प्रतिक्रिया