रुपन्देही २१ असार ।प्रदेश नं ५ मा व्यवस्थित क्वारेन्टाइन विस्तारै खाली हुँदै गएका छन । यस अघि प्रदेशका जिल्लामा ४५ हजारसम्म क्वारेन्टाइनमा बसेका थिए । ती संख्या अहिले घटेर ९ हजार ६ सयमा झरेको छ । भारतबाट आउनेलाई घरमै व्यवस्थापन गर्ने निर्देशनपछि क्वारेन्टाइन खाली हुदै गएका हुन् । अहिले रहेका क्वारेन्टाइन असुरक्षित छन । बाढी, पहिरोको जोखिमका साथै सर्पदंशको खतरा रहेको छ । गुल्मीको इश्मामा क्वारेन्टाइन नै पहिरोले बगाएको छ । इम्मा गाउँपालिका दोहली डाढको कालिका निम्नमाध्यमिक विद्यालय पहिरोले भत्काएपछि त्यहाँ बसेका पाँच जना घर पठाइएका छन ।
यता ४ जेठमा बाँकेको नरैनापुर गाउँपालिका–५ भोेजभगवानपुरस्थित दीपेन्द्र प्राविको क्वारेन्टाइनमा २५ वर्षका युवाको ज्यान गयो । बिहान साढे ५ बजेतिर पखाला लागेका युवाको समयमै औषधि मूलो नहुँदा उनको ज्यान गएको थियो । विद्यालयको चार वटा कोठामा ६० जनालाई राखिएको थियो । गत २६ जेठमा जानकी गाउँपालिका–१ बढैयाको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको क्वारेन्टाइनमा बसेका सुन्दरलाल काँदुलाई गोमन सर्पले टोक्यो । उनलाई झन्डै १२ घण्टापछि मात्र भेरी अस्पताल नेपालगन्जमा उपचारका लागि पठाइएको थियो । पीसीआरबाट कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आइसकेकाले उनी सोही दिन अस्पताल र क्वारेन्टाइनबाट डिस्चार्ज भएर घर गएका थिए।
प्रतिक्रिया