गण्डकी

सेनाको सम्मानसहित कोरोना सङ्क्रमितको शव व्यस्थापन



बाग्लुङ २२ असार । क्वारेन्टिनमा मृत्यु भएका बागलुङको निसीखोला–२ का २९ वर्षीय सुनिल विश्वकर्माको शव ढोरपाटन नगरपालिका–४ स्थित लुकुरवन खोला नजिकै आइतबार राति व्यवस्थापन गरिएको छ । विश्वकर्माको आइतबार बिहान ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टिनमा निधन भएको थियो ।

                   यही असार २ गते भारतबाट फर्किएका उनको असार १२ गते स्वाब सङ्कलन गरिएको भए पनि मृत्यु भएपछि मात्र कोरोना सङ्क्रमण भएको पुष्टि भएको हो । सुनिलको शवलाई नेपाली सेनाको अर्जुन बाड गणअन्तर्गत शत्रुमर्दन गुल्मका तीन जना सेनाले आइतबार राति अन्तिम सलामी दिएर बिदाइ गरेको जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख प्रशासकीय अधिकृत धीरेन्द्रराज पन्तले जानकारी दिनुभयो । खोला नजिक बगरमा डोजरले खाल्डो खनेर विश्वकर्माको शव गाडिएको छ ।

                पोखरा, गोरखालगायतका विभिन्न स्थानमा कोरोना सङ्क्रमितको शव व्यवस्थापनमा आएको अवरोधलाई देखेर आफूहरु तयारी अवस्थामा रहेको भए पनि ढोरपाटनमा कुनै अवरोध नभएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताउनुभएको छ । मृतक विश्वकर्मा चार वर्ष पहिलेबाट क्षयरोगको बिरामी थिए । उनको फोक्सोको देब्रे भागले भारतमा हुँदा नै काम गर्न छोडेको बताइएको छ ।

               असार २ गते भारतबाट फर्किएका विश्वकर्मा ढोरपाटन नगरपालिकास्थित ससुरालीमा होम क्वारेन्टिनमा बसेका थिए । श्रीमती र छोराछोरीसहित असार १२ गते स्वाब सङ्कलनको लागि ढोरपाटन–४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टिनमा पुगेका विश्वकर्माको परिवारलाई सोही दिनबाट क्वारेन्टिनमा राखिएको वडाध्यक्ष तिलक पुनले बताउनुभयो ।श्रीमती, दुई छोरी र एक छोराको समेत स्वाब सङ्कलन गरी पठाइएकोमा मृतक विश्वकर्मा र एक छोरीको मात्र रिपोर्ट आउन बाँकी थियो ।

             एक छोरी, छोरा र श्रीमतीको कोरोना रिपोर्ट यसअघि नै नेगेटिभ आएको भए पनि विश्वकर्माको स्वास्थ्य अवस्था नाजुक भएको कारणले सपरिवार क्वारेन्टिनको एउटै कोठामा बसिरहेको वडासचिव देवेन्द्र बस्यालले जानकारी दिनुभयो । मृतक विश्वकर्माका परिवारका सदस्यको पुनः स्वाब सङ्कलन गरी परीक्षण गरिने बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा मिलन मल्लले जानकारी दिनुभयो ।

प्रकाशित : २२ असार २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६