काठमाडौं २४ असार । नेपाल प्रहरी प्रमुख आईजीपी ठाकुर ज्ञवालीसहित दुई प्रहरी उच्च अधिकृतले बुधबारबाट अवकाश पाउँदैछन् । ३० वर्षे सेवा अवधिका कारण ज्ञवालीसहित उनका ब्याची प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी तारिणीप्रसाद लम्साल र प्रहरी नायब महानिरीक्षक डीआईजी सूर्यप्रसाद उपाध्यायले अवकाश पाउन लागेका हुन् । ज्ञवालीको अवकाशपछि प्रहरीको नेतृत्व ०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका अधिकृतको समूहका शैलेश थापा क्षेत्रीले गर्नेछन् ।
थापालाई आईजीपी बनाउन सरकारले मंगलबार नै निर्णय गरिसकेको छ ।प्रहरीका एक जना एसएसपीका अनुसार महानिरीक्षक ज्ञवालीको विदाइका लागि बुधबार साँझ ५ बजे प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रम राखिएको छ । जहाँ विभागका अधिकृतहरु उपस्थित हुनेछन् । नयाँ महानिरीक्षकको फूली लगाउने कार्यक्रम भने बिहीबार राखिएको छ । त्यसपछि उनलाई प्रहरी प्रधान कार्यालयमा स्वागत गरिनेछ ।
प्रतिक्रिया