काठमाडौं ५ साउन। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आन्तरिक विवाद चुलिएपछि गुटगत भेलाहरु बाक्लिएको छ । कहिले बालुवाटार, कहिले खुमलटार त कहिले भैंसेपाटी त कहिले अन्य स्थानमा गुटगत भेलाहरु निरन्तर भइरहेका छन् । तर भेलाले पनि कुनै निकास दिएको छैन । यहीबीचमा नेकपा अध्यक्ष प्रचण्डले खुमलटारस्थित निवासमा तत्कालीन माओवादी केन्द्र निकट स्थायी कमिटी सदस्यहरुको भेला बोलाएका छन् ।भोलि बस्ने स्थायी कमिटी बैठक बारेमा रणनीति बनाउन तत्कालीन माओवादी केन्द्र निकट नेताहरुलाई बोलाएर उनले छलफल गरिरहेको स्रोतले जनाएको छ ।
सो बैठकमा स्थायी कमिटीका सदस्य लेखराज भट्ट र रामबहादुर थापा बादलको भने उपस्थित नरहेको बताइएको छ । नेता भट्टले भने, ‘भेलाको बारेमा मलाई केही जानकारी थिएन र त्यही भएर त्यहाँ गइएन ।’स्थायी कमिटीको बैठक पटक पटक सर्दै आइरहेको छ । आइतवार बस्ने भनिएको स्थायी कमिटीको बैठकलाई मंगलवार सारिएको छ ।भोलि पनि बैठक बस्छ कि बस्दैन अन्योल कायमै छ । अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच हालसम्म कुनै सहमति नजुटेकाले अन्योलता कायमै रहेको हो । प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष अोलीले शनिवार बसेको सचिवालयको बैठकमा महाधिवेशनको प्रस्ताव गरेपछि पार्टीमा झन् अन्योल बढेको छ ।
प्रतिक्रिया