गुल्मी ५ असार । कोरोना महामारी सुरू भएसँगै क्वारेन्टाइन बनाइएका गुल्मीका २ सय ११ वटा विद्यालय खाली भएका छन । सम्भावित संक्रमितको निगरानी र संक्रमण निदानका लागि बनाइएका क्वारेन्टाइनबाट मानिसहरूलाई डिस्जार्ज गरिएपछि विद्यालयहरू खाली हुन थालेका हुन । गुल्मीमा ३ सय ३० वटा विद्यालयहरूमा क्वारेन्टाइनस्थल बनाइएको छ । अहिले १ सय १९ वटा विद्यालयका क्वारेन्टाइनमा ५०२ जना बसिरहेका छन । स्वास्थ्य कार्यालय गुल्मीका अनुसार अहिले मानिस नबसेपछि २ सय ११ वटा क्वारेन्टाइन खाली भएका हुन् ।
क्वारेन्टाइन बनाइएका, तर अहिले खाली भएका विद्यालयहरूलाई स्यानिटाइज, मर्मत र सरसफाई गर्न निर्देशन दिइएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन समिति बैठकले सम्बन्धित स्थानीय तहहरूलाई यस्तो निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिनु भयो । पछिल्लो २४ घण्टामा थप १८६ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार २१६ नमुना परीक्षण गर्दा उनीहरूमा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या १७ हजार ८४४ पुगेको छ । उनीहरूमध्ये ४० जनाको मृत्यु भएको छ भने ११ हजार ८६८ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १७३ जना आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै संक्रमित बारामा ४६ जना थपिएका छन् । यस्तै, डोटीका ४० जना, सर्लाहीका २३, सप्तरीका ९, कास्कीका ८, रुकुम पूर्वका ७, दाङ र सुनसरीका ६/६ जनामा संक्रमण पुष्टि भएको छ ।
पर्सा, सोलुखुम्बु, रोल्पा र सुर्खेतका ४/४ जना, झापा र सल्यानका ३/३ जना, काठमाडौं, धनुषा, तनहुँ र दैलेखका २/२ जना तथा इलाम, मोरङ, सिराहा, ललितपुर, लमजुङ, हुम्ला, कालीकोट र कैलालीमा एकएक जना संक्रमित भएका छन् ।
प्रतिक्रिया