बुटवल ६ साउन । प्रदेश ५ मा एक वर्षमा गाडी दुर्घटनामा परी ४ सय ८३ जनाको मृत्यु भएको छ । गत आर्थिक वर्ष २०७६/७७ मा भएको दुर्घटना अघिल्लो आर्थिक वर्षभन्दा १ सय ४० ले कम रहेको छ । आर्थिक वर्ष २०७५/७६ मा सवारी दुर्घटनामा ६ सय २३ जनाको मृत्यु भएको थियो । साढे ३ महिना भन्दा बढी लकडाउनको कारण सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या घटेको हुनसक्ने अनुमान गरिएको छ ।
प्रदेश ५ मा मृत्यु हुनेको संख्या घटेपनि सवारी दुर्घटनाको दर भने बढेको छ । आर्थिक वर्ष २०७६/७७ मा १ हजार १ सय २२ वटा दुर्घटना भएको छ भने त्यस अघि २०७५/७६ मा १ हजार २९ वटा दुर्घटना भएको थियो । गत आर्थिक वर्ष २०७६/७७ मा सबैभन्दा बढी रोल्पामा सवारी दुर्घटना भएको छ । रोल्पामा गत एक वर्षमा १ सय २३ वटा सवारी दुर्घटना भएको छ । त्यसपछि बाँकेमा १ सय १९, पाल्पामा १ सय ९, गुल्मीमा १ सय ८ जना रहेका छन । सवारी दुर्घटनामा परी मृत्यु हुनेमा सबैभन्दा बढी गुल्मीका रहेका छन ।
गुल्मीमा गत आर्थिक वर्षमा ७९ जनाको ज्यान गएको छ । गुल्मी पछि पाल्पामा ५७ र बाँकेमा ५१ जनाको ज्यान गएको छ । गत आर्थिक वर्ष २०७६/७७ मा सवारी दुर्घटनामा परी ६७ वटा चौपाया मरेका छन्। सबै भन्दा बढी रुकुम पूर्वमा ३२ वटा चौपाया मरेका छन् । यस्तै सवारी नियम उल्लंघन गर्ने १ लाख ७० हजार सवारी र चालकलाई कारबाही गरिएको प्रहरीले जनाएको छ । कारबाहीबाट १० करोड ६१ लाख राजश्व संकलन भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया