बर्दिया १४ साउन । गएरातिदेखि भइरहेको वर्षासँगै कैलाली र बर्दियाको सीमा नदी कर्णालीमा पानीको बहाव खतरा नजीक पुगेको छ । इलाका प्रहरी कार्यालय चिसापानी (कैलाली) का प्रमुख प्रहरी निरीक्षक दीर्घबहादुर बोगटीले मध्याह्नसम्म कर्णाली नदीमा पानीको बहाव दश दशमलब दश मिटर पुगेको बताउनुभयो । यो नदीमा पानीको बहाव ११ मिटर पुगेपछि खतरा मानिन्छ । पानीको बहाव खतरा नजीक पुगेपछि बर्दिया र कैलालीको तल्लो तटीय क्षेत्रको समुदायलाई सतर्क रहन सूचना दिइएको बोगटीले जानकारी दिनुभयो । कर्णाली नदीमा आएको बाढीले बर्दियाको नदी तटीय क्षेत्रका साथै कैलालीको दक्षिण पूर्वी क्षेत्र डुबान र कटानको जोखिममा परेको छ । कर्णाली नदीबाट कैलालीतर्फ आउने विभिन्न कुला तथा खोलामा पनि बहाव बढेको छ ।
उत्तरबाट दक्षिणतर्फ बग्ने कर्णालीमा उर्लिएर आउने बाढीका कारण पश्चिमबाट पूर्वतर्फ सीमा क्षेत्र हुँदै बग्ने मोहना नदीको पानीको बहाव रोकिन गई जिल्लाको दक्षिणी सीमावर्ती गाउँ डुबान र कटानको जोखिममा पर्ने गरेका हुन् । नदीको बाढीले कैलालीको भजनी नगरपालिका, जानकी गाउँपालिका, जोशीपुर गाउँपालिका र टीकापुर नगरपालिकाका कतिपय वडाका गाउँबस्ती डुबानमा परेका सशस्त्र प्रहरी बल नं ३४ गणका प्रहरी उपरीक्षक कमल तिम्सिनाले बताउनुभयो । “वषासँगै नदीमा बढेको पानीको बहाव गाउँबस्तीमा पसेपछि जिल्लाको दक्षिणी क्षेत्र र दक्षिणपूर्वी क्षेत्रका झण्डै एक हजार ५०० घर डुबानमा परेको जानकारी आएको छ”, उहाँले भन्नुभयो, “डुबानमा परेका घरपरिवारलाई सुरक्षित स्थानमा राख्ने कामका लागि सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ ।
” भजनी नगरपालिका वडा नं ३, ५ र ८, जानकी गाउँपालिका वडा नं १, २, ३, ४ र ७, टीकापुर नगरपालिका–२ विजयनगर र मिलनपुर, जोशीपुर गाउँपालिकाको अमरैया र पथरैयालगायत गाउँ डुबानमा परेका छन् ।उत्तरबाट दक्षिणतर्फ बग्ने खुटिया, मुढा, गोरीगङ्गा, कान्द्रा, शिवगङ्गा र काँडा नदीमा समेत पानीको बहाव बढेको छ । अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी उपमहानगरपालिका कतिपय बस्ती र सडक जलमग्न हुँदा आवागमनमा असहज बनेको छ । वर्षाका कारण कैलालीको दक्षिणी क्षेत्रका अधिकांश भूभाग जलमग्न भएका छन् ।
प्रतिक्रिया