बुटवल ८ कार्तिक । लुम्विनी प्रदेश सरकारले बुटवलमा हाइडिपेन्डेन्सी युनिट’ स्थापना गर्दै प्रदेश ५का १२ जिल्लाका सरकारी अस्पतललाई ५/५ बेड क्षमताको कोरोन विशेष अस्पताल बनाउने निर्णय गरेकोछ । यो संगै लुम्बिनी प्रदेशमा कोरोना विशेष अस्पतालबाहेकका सरकारी अस्पतालबाट समेत कोरोना उपचार गरिने भएको छ । मुख्यमन्त्री शंकर पोखरेलको संयोजकत्वमा शुक्रबार बुटवलमा बसेको कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले अन्य सेवा प्रभावित नहुने गरी प्रदेशका सबै जिल्ला अस्पतालमा ५ बेडबाट कोरोना उपचार सुरु गर्ने निर्णय लिएको हो ।
लुम्बिनीमा १२ जिल्ला अस्पताल छन् । उक्त सेवा स्थापना गर्न केन्द्र सरकारबाट प्राप्त सहयोगलाई परिचालन गर्ने र नपुग रकम प्रदेश सरकारसाग माग गरिने केन्द्रले जनाएको छ । यस्तै जटिल खालका बिरामीका लागि तत्काल बुटवलको कोरोना अस्पतालमा ‘हाइडिपेन्डेन्सी युनिट’ थप्ने बैठकको निर्णय छ । यस्तै केन्द्रले लक्षण देखिएका शंकास्पद बिरामीको निःशुल्क पीसीआर परीक्षणको व्यवस्था गर्ने निर्णय गरेको छ । लक्षण भएका बिरामीलाई अनिवार्य परीक्षणको दायरामा ल्याउन यस्तो व्यवस्था गरिएको हो ।
बैठकले आफ्नै खर्चमा परीक्षण गर्न चाहने व्यक्तिलाई सहज रूपमा सशुल्क परीक्षणको व्यवस्था गर्ने र परीक्षणको नतिजा प्रयोगशालाहरूले अनिवार्य रूपमा जिल्ला स्वास्थ्य कार्यालयलाई उपलब्ध गराउन सामाजिक विकास मन्त्रालयले संयोजन मिलाउने निर्णय गरेको छ ।लक्षणसहितका बिरामीको उपचार कोभिड विशेष अस्पताल र अन्य सरकारी अस्पतालमा निःशुल्क गरिने भए पनि उक्त खर्च संक्रमितले पाउने बिमाबाट कटाइने र बिमा रकमभन्दा बढी खर्च भए त्यो सरकारले नै बेहोर्ने निर्णय भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताउनुभएको छ ।
प्रतिक्रिया