काठमाडौ ३ पुस ।अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ विरुद्धको खोप आयात गरी जनतालाई उपलब्ध गराउन स्रोतको अभाव नहुने बताउनु भएकोछ । विश्व बजारमा विभिन्न कम्पनीले उत्पादन गरेको खोप सहजरुपमा उपलब्ध हुने क्रममा रहेको उल्लेख गर्दै सरकार खोप आयात तथा वितरणका लागि लागिपरेको बताउनु भयो ।
नेपाल आर्थिक पत्रकार सङ्घको नवनिर्वाचित कार्य समितिका पदाधिकारीसँगको भेटमा अर्थमन्त्री पौडेलले कोभिड–१९ को लक्षण देखिएका नेपालीको निःशुल्क परीक्षण र उपचार गरे जसरी नै खोपको आर्थिक दायित्व पनि राज्यले व्यहोर्ने स्पष्ट पार्नु भयो । “भ्याक्सिनमा नागरिकले दायित्व व्यहोर्नु पर्दैन, हामी त्यो तयारीमा छौँ”, उहाले भन्नु भयो , “भ्याक्सिन ल्याउनका लागि भ्याक्सिन उत्पादन गरेका देशसँग कुटनीतिक संवाद जारी राखेका छौँ।”
उहाले विश्व बजारमा सहजरुपमा उपलब्ध हुनासाथ नेपालमा आयात गर्नका लागि तयारी भइरहेको जानकारी दिनु भयो । मन्त्री पौडेलले मापदण्ड अनुसार कोभिड–१९ विरुद्ध अग्रमोर्चामा खटिएका र वृद्धवृद्धालाई प्राथमिकता दिने र त्यसपछि सबैलाई खोप उपलब्ध गराएर कोभिड विरुद्धको लडाईलाई निर्णायक बनाउने दिशामा सरकार केन्द्रित रहेकोछ ।
उहाले कोभिड–१९ बाट प्रभावित अर्थतन्त्र र जनजीवनलाई पुरानै लयमा फर्काउन र चलायमान बनाउन सरकार लागि परेको जनाउनु भयो । “अर्थतन्त्रलाई सबल, सक्षम र गतिशिल बनाउन सरकारले सम्भव सबै उपाय अवलम्बन गर्छ”, उहाले भन्नु भयो । रासस
३ पुस २०७७, शुक्रबार
प्रतिक्रिया