बिराटनगर २५ माघ । प्रदेश–१ को प्रदेशसभा बैठक राख्ने बारे नेकपाको दुई समूहबीच सहमति जुट्न सकेन । बैठक अगाडि दुई समूहका नेताहरु वार्तामा बसेका थिए । तर, आ–आफ्नो अडान छोड्न नमानेपछि बिना सहमति नेताहरु उठेका छन् ।ओली समूहका नेताहरुले आइतबार निर्धारित बैठक सूचना टाँसेर स्थगित गर्ने र छलफल अगाडि बढाउने प्रस्ताव राखेका थिए । तर, प्रचण्ड–माधव समूहका नेताहरुले कम्तिमा आइतबार बैठक राखेर मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव पेश गरिनुपर्ने अडानमा कायमै रहे ।बैठक १८ दिन स्थगित भइसकेकाले अब मुख्यमन्त्रीविरुद्ध परेको अविश्वासको प्रस्ताव टेबल गरेर अगाडि बढ्नुपर्ने अडानमै रह्यो । ‘कम्तिमा आजको बैठकमा अविश्वासको प्रस्ताव टेवल गरौं भन्ने हो । बरु, त्यसपछि छलफल गर्न सकिन्छ’, वार्तामा सहभागी प्रचण्ड–माधव समूहका नेता राजेन्द्र राईले भने ।
तर, यसमा ओली समूह तयार भएनन् । दुवै समूह अडानमा कायमै रहेपछि वार्ता बिना निष्कर्ष सकिएको छ । वार्तामा ओली समूहबाट आन्तरिक मामला मन्त्री रहेका हिक्मत कार्की र बिमल कार्की सहभागी थिए भने प्रचण्ड–माधव समूहबाट राजेन्द्र राई, इन्द्र आङ्बो र लक्ष्मण तिवारी सहभागी थिए ।बैठक बस्नेबारे कार्यव्यवस्था परामर्श समितको बैठकमा पनि दुवै समूहले यही अडान राखेका छन् । कुरा मिल्न नसक्दा दुई बजे बोलाइएको प्रदेशसभा बैठक बस्न सकेको छैन । मुख्यमन्त्री शेरधन राई विरुद्ध नेकपाकै ३७ सांसदले अविश्वासको प्रस्ताव पेश गरेका छन् ।तर, यो प्रस्ताव टेवल हुन सकेको छैन । गएको माघ ७ मा तीन मिनेट बसेर बैठक स्थगित भएको थियो








प्रतिक्रिया