कपिलवस्तु ३० माघ । प्रवासी नेपालीहरूका चर्चित नेता एवम् नेकपाका केन्द्रीय सदस्य गिरधारीलाल न्यौपानेको पुस्तक “राजनीतिक जीवनयात्राका चार दशक” लोकार्पण हुने भएको छ । बुटवलमा २०७७ फागुन १ गते हुने नेकपाको वृहत् आमसभाका दौरान प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीका हातबाट पुस्तकको लोकार्पण गरिने लेखक गिरधारीलाल न्यौपानेले जानकारी गराएका छन् ।
गिरधारीलाल न्यौपाने प्रवासीहरूको सङ्गठनका एक चर्चित व्यक्तित्व हुन् । आफ्नो जीवनको सबभन्दा उर्जाशील झन्डै तीन दशक लामो अवधिलाई सम्पूर्ण रूपमा प्रवासी नेपालीका हक, अधिकार र न्यायको पक्षमा लगाएका न्यौपानेले त्यस समयको आफ्नो महत्त्वपूर्ण अनुभवलाई पुस्तकको रूप दिएका छन् । तीन दशक प्रवास र त्यसपछिको एक दशक नेपालमा जनपक्षीय आन्दोलन र अभियानमा आफूले भोगेका सुखद, दुःखद दुवै खाले क्षण र घटनाक्रमका अनुभवलाई यस पुस्तकभित्र समेटेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (मसाल) को भ्रातृ सङ्गठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको साधारण सदस्यका रूपमा प्रवेश गरी आफ्नै लगन र इमान्दारिताका कारण दुई कार्यकाल एकता समाजका सभापति/अध्यक्ष र दुई कार्यकाल नै महासचिव रहन सफल गिरधारीलाल मसालकै अन्तर्राष्ट्रिय भ्रातृ सङ्गठन अन्तर्राष्ट्रिय नेपाली एकता समाजका संस्थापक अध्यक्षसमेत रहे ।
एक दशकसम्म नेकपा (मसाल) को प्रवास शाखाको इन्चार्ज रहँदै पोलिटब्युरो सदस्यसमेत रहनुभएका न्यौपाने २०६६ सालमा तत्कालीन एकीकृत–माओवादीसँग पार्टीएकतापछि सो पार्टीको पोलिटब्युरो सदस्य रहे । त्यस क्रममा उनले राज्य समितिको इन्चार्जको जिम्मेवारी कुशलतापूर्वक वहन गरेका छन् । हाल उनी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य हुन् ।
आफ्नो यसै ४० वर्ष लामो राजनीतिक जीवनयात्रालाई सङ्क्षिप्त रूपमा दस्तावेजीकरण गरिएको पुस्तक हो– “राजनीतिक जीवनयात्राका चार दशक” ।पुस्तकको नाम झट्ट हेर्दा यो गिरधारीलाल न्यौपानेको आत्मकथा या जीवनी मात्र हो कि भनेजस्तो लागे पनि यस पुस्तकमा त्योभन्दा पृथक विषयवस्तु पढ्न पाइन्छ । नेपाली तत्कालीन शासकबाट प्रतिबन्धित जनपक्षीय राजनीति र कम्युनिस्ट आन्दोलनको उर्वर आधारक्षेत्र भारतभूमिमा नेपाली कम्युनिस्ट आन्दोलनका दिग्गज अभियन्ता, राजनीतिज्ञका कार्य, क्रियाकलाप र आन्दोलनलाई समेत पुस्तकमा समेटिएको छ ।
नेपाली कम्युनिस्टहरूका गुरु मानिने मोहनविक्रम सिंहदेखि चित्रबहादुर केसी, मोहन वैद्य किरण र पूर्व प्रधानमन्त्रीद्वय डा. बाबुराम भट्टराई, प्रचण्डसमेतसँग भएका कार्य÷सहकार्यको सङ्क्षिप्त विवरणसमेत यस पुस्तकमा पाउन सकिन्छ । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामना, मोहनविक्रम सिंह, डा. बाबुराम भट्टराई, प्रचण्ड, एकता समाजका संस्थापक अध्यक्ष गोविन्दसिंह थापा, एकता समाजका पूर्वअध्यक्ष एवम् नेकपा नेता डिलाराम आचार्यका शुभकामना मन्तव्य तथा भूमिकाले यस पुस्तकको महत्त्वलाई दर्साएका छन् ।
कमजोर आर्थिक अवस्थाका कारण १४ वर्षे बाल्यकालदेखि नै विदेसिएर भारतका घर, होटल र कारखानामा जोतिँदै, हन्डर खाँदै गरेर पनि एकता समाजका माध्यमबाट आफूजस्तै र आफूभन्दा पनि बढी पीडित प्रवासी नेपालीको पक्षमा भएगरेका कार्यको सङ्क्षिप्त तर ठोस दस्तावेज यस पुस्तकमा समेटेका छन् न्यौपानेले ।
गिरधारीलालको प्रस्तुत पुस्तक अध्ययन सामग्री बन्ने विश्वास गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले लेखेका छन्– “कम्युनिस्ट पार्टीको सङ्गठकको रूपमा उहाँले तीन दशकसम्म प्रवासमा निर्वाह गर्नुभएको भूमिका, त्यसका अनुभव, चार दशक लामो राजनीतिक यात्रामा राजनीतिक र सामाजिक जागरणमा निर्वाह गर्नुभएको भूमिका समेटिएको उहाँको पुस्तक भोलिको पुस्ताका लागि महत्त्वपूर्ण अध्ययन सामग्री बन्ने छ भन्ने विश्वास व्यक्त गर्दछु ।”
लेखकको लेखकीय इमान्दारीको प्रशंसा गर्दै वरिष्ठ कम्युनिस्ट नेता मोहनविक्रम सिंहले आफ्नो मन्तव्यमा लेखेका छन्– “पुस्तकमा इतिहासको विवरण बयान गरेर अगाडि आउनु यो पुस्तकको सबैभन्दा सफल पक्ष हो । यसमा लेखक सन्तुलित भएर व्यक्त हुनु अझ स्वागतयोग्य पक्ष हो । त्यसबाट लेखकको इमान्दारिता पनि बुझ्न सकिन्छ । लेखकका केही मौलिक दृष्टिकोणबाहेक अन्य सबै विषयवस्तु तथ्यसङ्गत रहेका छन् । लेखकले विगतलाई सकेसम्म तथ्यपरक बनाउन कोसिस गरेका कारणले इतिहासका विद्यार्थीहरूले यसलाई सन्दर्भ सामग्रीका रूपमा प्रयोग गर्न सक्ने छन् ।”
त्यसै गरी पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुस्तकलाई उथलपुथलपूर्ण जीवनका अनुभव र अनुभूतिको सँगालो भनेका छन् । भट्टराईले भनेका छन्– “समग्रमा एउटा सामान्य पृष्ठभूमिबाट उठेर विद्यमान राजनीति र समाज व्यवस्थामा रहेका विकृति, विसङ्गति, विभेद, अन्यायको विरुद्धमा निरन्तर सङ्घर्ष गर्ने र शोषणरहित समाज स्थापना गर्ने दृढताले भरिएको जीवनको चित्र पुस्तकले प्रस्तुत गर्छ ।”
उता, पूर्व प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष प्रचण्डले पुस्तकको भूमिकामा लेखेका छन्– “जीवनकथाको यो चित्रमा एउटा पाटो कष्टकर भए पनि उदाहरणीय छ । यो राम्रो कथासमेत बन्न सक्छ । वास्तवमा तत्कालीन परिवेशको कमरेड गिरधारीलाल न्यौपानेको यो एक्लो कथा होइन, बरु हाम्रो देशको त्यो परिस्थितिको आर्थिक, सामाजिक र सांस्कृतिक धरातलको समेत प्रतिनिधित्व गर्ने कथा हो ।”
प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाली राजनीतिक फाँटका दिग्गज व्यक्तित्वका यी भनाइबाट पनि पुस्तकको राजनीतिक र ऐतिहासिक महत्त्व रहेको बुझ्न सकिन्छ ।
प्रतिक्रिया