अर्थ-वाणिज्य

शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी एमाले नजाने



काठमाडौँ ३ पुस — प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी एमाले नजाने भएको छ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीलाई बोलाएकोले आफूहरू सहभागी नहुने एमालेका नेताहरूले बताएका छन् । 

संघीय संसद्मा जारी अवरोध र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे छलफल गर्नका लागि प्रधानमन्त्री देउवाले आइतबार अपराह्न ४ बजे सर्वदलीय बैठक आह्वान गरेका छन् ।


एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टीले मान्यता नदिएका दलहरू उपस्थित हुने बैठकमा सहभागी नहुने बताए । ‘सर्वदलीय बैठकमा को-को उपस्थित हुन्छन् भन्ने कुराले हामी उपस्थित हुने र नहुने भन्ने भर पर्छ,’ पोखरेलले भने, ‘हामीले रिकज्नाइज (मान्यता नदिएका) नगरेकाहरूलाई बोलाए त हामी कसरी उपस्थित हुने ?’

संसद् अवरोध र एमसीसीबारे सरकारको नेतृत्व गरिरहेको दल कांग्रेससँग छलफल हुनसक्ने पोखरेलले बताए । उनले भने, ‘संसद्को अवरोध र एमसीसीबारे कांग्रेससँग छलफल हुन सक्छ तर हामीले मान्यता नदिएका दलसँग छलफल हुन्न ।’

संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पनि सर्वदलीय बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने भनिएका सबै दललाई बोलाए एमाले सहभागी नहुने बताएका छन् ।

प्रतिनिधिसभाको आगामी बैठक पुस ६ गते मंगलबारका लागि आह्वान गरिएको छ । उक्त दिनको बैठकमा एमसीसी सम्झौतालाई अगाडि बढाउने सरकारको तयारी रहेको छ । अर्कोतिर एमालेले संसद्मा अवरोध जारी राखेको छ । आफूबाट विभाजित भएर नेकपा (एस) गठन गरेका माधवकुमार नेपाललगायत १४ सांसदलाई कारबाही गर्नुपर्ने माग राख्दै एमालेले विरोध गरिरहेको हो । उनीहरूलाई सांसद पदबाट मुक्त गर्नुपर्ने एमालेको माग छ । नेकपा (एस) भने देउवा नेतृत्वको सत्तारुढ गठबन्धनमा सहभागी छ ।

एमाले प्रधानमन्त्री देउवाले बोलाएका यसअघिका सर्वदलीय बैठकमा पनि सहभागी भएको थिएन ।

प्रकाशित : ३ पुस २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६