प्रदेश

सातौँ राष्ट्रिय योग दिवस मनाइँदै, कोरोना सङ्क्रमितलाई पनि योगाभ्यास गराइने



काठमाण्डौ, ०१ माघ । आज सातौँ राष्ट्रिय योग दिवस मनाइँदै छ । नेपालमा २०७२ सालदेखि हरेक वर्ष माघ १ गते योग दिवस मनाउने गरिएको छ ।

दिवसको यसवर्षको नारा ‘सर्वाङ्गीय विकासका लागि योग’ भन्ने रहेको छ । योगका लागि उत्तरायण महत्त्वपूर्ण मानिने भएकाले उत्तरायण सुरु हुने पहिलो दिन मकर सङ्क्रान्ति अर्थात् माघ १ गतेलाई सरकारले राष्ट्रिय योग दिवस घोषणा गरेको हो ।

प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवम् स्थिरता र आरोग्यताको प्राप्ति हुन्थ्यो । तर, बिलासी जीवनशैलीका कारण योग ओझेलमा परे पनि पछिल्लो समय योग र ध्यानमा आकर्षण बढ्दो छ । दिवसका अवसरमा यसपालि भर्चुअल माध्यमबाट कार्यक्रम हुँदैछन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका निमित्त महानिर्देशक डाक्टर श्यामबाबु यादवले कोरोना भाइरसको जोखिमका कारण भर्चुअलरूपमा दिवस मनाउन थालिएको जानकारी दिनुभयो।

उहाँले विभागकै हलमा २५ जनाको उपस्थितिमा सातैप्रदेशलाई भर्चुअलरूपमा जोडेर योगाभ्यास र जनचेतनामूलक कार्यक्रम गर्ने बताउनुभयो । उहाँले दिवसकै अवसरमा आइसोलेशनमा रहेका कोरोना सङ्क्रमितलाई पनि योगाभ्यास गराउने बताउनुभयो ।

विभागका निमित्त महानिर्देशक डा यादवले योगले मानिसको सकारात्मक सोच विकास गर्नुको साथै रोग प्रतिरोधात्मक क्षमताको विकास गराउने बताउनुभयो ।

विभागका जडीबुटी, औषधि व्यवस्थापन तथा अनुसन्धान महाशाखा प्रमुख डा सन्तोषकुमार ठाकुरले मानिसले शारीरिकभन्दा प्रविधिबाट धेरै काम गर्ने थालेकाले शरीर चलायमान गराउनका लागि योग अनिवार्य रहेको बताउनुभयो ।

योगको नियमित अभ्यासले रोग प्रतिरोधी क्षमता बढ्ने भएकाले कोरोनाबाट बच्नसमेत सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रकाशित : १ माघ २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६