प्रदेश

सभामुखको निर्वाचन माघ ७ मा गर्न प्रस्ताव



काठमाडौँ, २२ पुस । सभामुख चयनका लागि आगामी माघ ७ गते निर्वाचन गर्न प्रस्ताव गरिएको छ । ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले शुक्रबार संघीय संसद् भवन नयाँ बानेश्वरमा आयोजना गरेको सर्वदलीय बैठकमा गरिएको प्रस्तावअनुसार माघ ७ मा सभामुख र माघ ९ मा उपसभामुखको निर्वाचन गर्न दलहरु सहमत भएका नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले जानकारी दिए ।

प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख वा उपसभामुख चयन गरिसक्नुपर्ने व्यवस्था छ । प्रतिनिधिसभाको पहिलो बैठक यही पुस २५ गते दिउँसो १ बजे बस्ने कार्यसूची छ । पहिलो बैठकमा प्रतिनिधिसभामा संलग्न दलका शीर्ष नेता वा सांसदले सम्बोधन गर्ने विषयमा सहमति जुटेको छ ।

यस्तै, पुस २६ मा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने कार्यसूची छ । सो कार्यसूचीलाई पनि पुरानै नियमावलीअनुसार नै विश्वासको मतका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने विषयमा सहमति भएको छ ।

ज्येष्ठ सदस्य राणाले आयोजना गरेका बैठकमा उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, कांग्रेसका मुख्य सचेतक लेखक, नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वसभामुख सुवास नेम्वाङ, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, जसपा नेपालका नेता प्रदीप यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा एकीकृत समाजवादी का नेता प्रकाश ज्वालालगायतको सहभागिता थियो ।

प्रतिनिधिसभाको बैठक सञ्चालनसम्बन्धी नयाँ नियमावली नबन्दासम्म पुरानै नियमावलीअनुसार बैठक बस्ने निर्णय पनि भएको प्रमुख सचेतक लेखकले बताए ।

प्रकाशित : २२ पुस २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६